वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

  • कालिका खवर
  • आइतवार, भदौ २१, २०८३
  • काठमाडौँ : पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथमार्फत काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर भइरहेको छ।

    गत भाद्र १४ गते त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बिचमै रोकिएका थिए। आपूर्ति सहज बनाउन निगमले तराईका उद्योगमा भरिएका ग्यास सिलिन्डर वैकल्पिक मार्ग हुँदै काठमाडौँ भित्र्याउन थालेको हो।

    निगमका अनुसार भदौ १८ गते करिब २४ हजार ५ सय र भदौ १९ गते करिब ३४ हजार १ सय ३४ सिलिन्डर उपत्यका भित्र्याइएको छ। आपूर्ति प्रणाली सुचारु राख्न सार्वजनिक बिदाका दिन पनि ग्यासको रिफिलिङ र ढुवानी निरन्तर गर्न उद्योगलाई निर्देशन दिइएको छ।

    यसैबिच, भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा भारी क्षति पुगेपछि जारी खोज तथा उद्धार कार्यका लागि निगमले हवाई इन्धन र ग्यास उपलब्ध गराइरहेको छ।

    उद्धारमा खटिएका हेलिकप्टरका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म १ लाख २० हजार लिटर हवाई इन्धन रिफ्युलिङ गराइसकिएको छ। यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका अस्थायी सेल्टरहरूका लागि ५ सय ७५ थान एलपी ग्यास सिलिन्डर पठाइएको निगमले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar