उद्धार र राहतमा जुट्न ज्ञानेन्द्र शाहीको अपिल

  • कालिका खवर
  • सोमवार, भदौ १५, २०८३
  • काठमाडौं। राष्ट्र्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपद्मा परेका नागरिकको उद्धार तथा सहयोगमा जुट्न देश/विदेशमा रहेका सम्पूर्ण नेपालीलाई अपिल गरेका छन्।

    सञ्चारमाध्यमहरूमा ठूलो सङ्ख्यामा नागरिक बेपत्ता रहेको सूचना सार्वजनिक भइरहेको भन्दै उनले यो कठिन समयमा दलीय घेराभन्दा माथि उठेर सबैले हातेमालो गर्दै नागरिकको जीवन रक्षामा केन्द्रित हुनुपर्ने बताएका हुन्।

    नेता शाहीले नागरिकसँग भएको सीप, क्षमता, स्रोत र साधनलाई अहिले देश र बाढीपहिरो पीडितको सेवामा लगाउन आग्रह गरेका छन्। उनले इन्जिनियरहरूलाई प्राविधिक सहयोग गर्न, स्वास्थ्यकर्मीलाई उपचारमा खटिन, उद्धारसम्बन्धी अनुभव भएकालाई उद्धार कार्यमा जुट्न र सञ्चारकर्मीलाई सही तथा प्रमाणित सूचना मात्र प्रवाह गर्न अनुरोध गरेका छन्।

    ‘तपाईंसँग जुन सीप, क्षमता, स्रोत वा साधन छ, त्यसलाई अहिले देश र नागरिकको सेवामा लगाइदिनुहोस्,’ सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘तपाईं इन्जिनियर हुनुहुन्छ भने प्राविधिक सहयोग गर्नुहोस्। स्वास्थ्यकर्मी हुनुहुन्छ भने उपचारमा खटिनुहोस्। प्राविधिक वा उद्धारको अनुभव छ भने उद्धारमा सहयोग गर्नुहोस्।’

    यसैगरी, स्वयंसेवकहरूलाई राहत तथा व्यवस्थापनमा सघाउन र आर्थिक रूपमा सक्षम व्यक्ति तथा संस्थालाई खाद्यान्न, औषधि एवं आवश्यक सामग्री सहयोग गर्न उनले आह्वान गरेका छन्।

    ‘जसले जे जानेको छ, त्यही गरौँ। जसले जे सकिन्छ, त्यही सहयोग गरौँ। तपाईंको सानो सहयोग पनि कसैका लागि जीवनदान बन्न सक्छ,’ शाहीले जोड दिँदै भनेका छन्, ‘अहिले सबैभन्दा ठूलो कुरा मान्छेको जीवन बचाउनु हो।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar