तलब भत्ताको माग गर्दै फतुवा विजयपुरका शिक्षकहरू आन्दोलित

  • कालिका खवर
  • सोमवार, अशोज २७, २०८२
  • रौतहट। रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरू तलब र भत्ताको माग गर्दै आन्दोलित भएका छन्। दीपावली र छठ जस्ता प्रमुख पर्वहरू नजिकिँदै गर्दा पनि तलब नपाएको भन्दै शिक्षकहरूले आइतबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवलाई ज्ञापनपत्र बुझाएका छन्।

    हिमाली मावि हिमालीबासका प्रधानाध्यापक बुनिलाल यादवले दसैँ जस्तो ठुलो पर्वमा तलब नपाउँदा ठुलो आर्थिक समस्या भएको बताएका छन्। दीपावली र छठ पनि नजिकिँदै गर्दा नगरपालिकाले कुनै चासो नदेखाएकोले बाध्य भएर ज्ञापनपत्र बुझाएको उनले जनाएका छन्।

    ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत यादवले नगरपालिकाको खाता सञ्चालन नहुँदा तलब भत्ता निकासा गर्न नसकिएको जानकारी दिएका छन्। उनले कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले खाता सञ्चालनका लागि अख्तियारी दिन ढिलाइ गरेकाले कोष तथा लेखा नियन्त्रण कार्यालयले खाता खोल्न नसकेको स्पष्ट पारेका छन्।

    निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले शिक्षक कर्मचारीको तलब तत्काल उपलब्ध गराउन आफूहरू प्रयासरत रहेको बताएका छन्। सम्भवतः भोलिसम्म अख्तियारी प्राप्त भएपछि खाता सञ्चालन हुने र तलब निकासा गरिने उनले बताएका छन्। यता, शिक्षकहरूले समयमै तलब नपाउँदा आफूहरू निकै आर्थिक तनावमा परेको बताएका छन्।

    यसैबीच, फतुवा विजयपुर नगरपालिकामा दीपावली र छठ पर्वको मुखमा समेत सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा लाभग्राहीहरू पनि आक्रोशित बनेका छन्। राङ्गी गर्जा टोलका ज्येष्ठ नागरिक राम नारायण चौधरीले  कुरा गर्दै दसैँ, दीपावली र छठमा सामाजिक सुरक्षा भत्ताको रकमले सयौँ परिवारको गुजारा चल्ने गरेकोमा अहिले समयमा भत्ता वितरण नहुँदा निराश बनेको गुनासो गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar