सवारी साधन दर्ता प्रक्रियाका समस्याबारे काठमाडौं प्रशासन र नाडाबीच छलफल

  • कालिका खवर
  • बिहिबार, अशोज १५, २०८३
  • काठमाडौं। सवारी साधन दर्ता प्रक्रियामा देखिएका समस्या समाधानका विषयमा काठमाडौं जिल्ला प्रशासन कार्यालय र नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) बीच छलफल भएको छ।

    नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी सवारी साधन दर्ताका क्रममा देखिएका समस्या तथा समाधानका उपायबारे छलफल गरेको हो।

    भेटका क्रममा महासचिव मल्लले चाडपर्व नजिकिँदै गएको तथा यातायात व्यवस्था कार्यालयहरूमा सवारी साधन दर्तासम्बन्धी कामको चाप बढिरहेको अवस्थामा सीमित जनशक्तिका कारण सेवाग्राही तथा कम्पनीका प्रतिनिधिहरूको काम समयमै सम्पन्न गर्न कठिनाइ भइरहेको जानकारी गराए।

    उनका अनुसार कम्पनीका प्रतिनिधिहरूले आफ्ना कम्पनीका तर्फबाट आवश्यक कागजात पेश गर्ने तथा सवारी साधन दर्तासम्बन्धी आवश्यक कार्यमा सहजीकरण गर्दै आए पनि कार्यालयको नियमित प्रक्रिया र कर्मचारीमाथिको कार्यचापका कारण दर्ता प्रक्रिया सम्पन्न हुन अपेक्षाकृत बढी समय लाग्ने गरेको छ। यस विषयमा तत्काल सहयोग र समन्वय गर्न उनले प्रमुख जिल्ला अधिकारी पौडेलसमक्ष आग्रह गरे।

    छलफलका क्रममा नाडाका सचिव तथा टु ह्वीलर समितिका सभापति मेघराज पौडेलले गत असोज ८ गते यातायात व्यवस्था कार्यालयका प्रमुख राजन पोखरेलसँग नाडाका प्रतिनिधिहरूले भेट गरी सवारी साधन दर्तासम्बन्धी समस्याको समाधानका विषयमा छलफल गरिसकेको जानकारी दिए।

    छलफलको अन्त्यमा प्रमुख जिल्ला अधिकारी पौडेलले सवारी साधन दर्तासम्बन्धी समस्या समाधानका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूसँग आवश्यक छलफल तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

    भेटघाट तथा छलफलमा नाडाका केन्द्रीय कार्यसमिति सदस्य विमल साह तथा नाडा टु ह्वीलर समितिका सदस्यहरू योगेन गुरुङ र दिपक रौनियारको समेत उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar