सुरक्षित आवासलाई प्राथमिकता दिँदै नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी हुँदै

  • कालिका खवर
  • बिहिबार, भदौ २५, २०८३
  • काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३ आयोजना हुने भएको छ।

    नेपालमा सुरक्षित, सुव्यवस्थित एवं वैज्ञानिक बस्ती विकास गरी दिगो सहरीकरण प्रवर्द्धन गर्ने उद्देश्यले आगामी २०८३ साल असोज १ देखि ४ गते (सेप्टेम्बर १७–२०, २०२६) सम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक्स्पो आयोजना हुन लागेको हो।

    नेपाल जग्गा तथा आवास विकास संघ (NLHDA) र नेपाल जग्गा तथा आवास विकास महासंघ (NLHDF) को संयुक्त आयोजनामा तथा नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीको अवसरमा चेम्बरको सहकार्यमा एक्स्पो आयोजना गर्न लागिएको हो। मेलाको व्यवस्थापन ‘तिया इभेन्ट एसोसिएट्स प्रा.लि.’ ले गर्नेछ।

    एक्स्पोको टाइटल स्पोन्सर सिजी प्रोपर्टिज/सिजी होल्डिङ्स, पावर्ड बाई स्पोन्सर एसियन पेन्ट्स, इन्स्योरेन्स पार्टनर प्रभु इन्स्योरेन्स रहेका छन्। Smart Paani, KB उया र UHS Holdings सहयोगी संस्थाका रूपमा रहेका छन्।

    आयोजनाको पूर्वसन्ध्यामा बिहीबार होटल हिमालयमा आयोजक, प्रदर्शक तथा सञ्चारकर्मीबीच विशेष भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

    सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको एक्स्पोले भूकम्प, महामारी तथा विभिन्न चुनौतीका बाबजुद आफ्नो निरन्तरता कायम राखेको आयोजकको भनाइ छ। यसपटक स्वदेशका विभिन्न स्थानसँगै भारतका प्रदर्शकसमेत सहभागी हुनेछन्। मेलामा १०० भन्दा बढी स्टल रहने र ती सबै बुकिङ भइसकेको जनाइएको छ।

    प्रदर्शनीमा अपार्टमेन्ट, जग्गा विकास आयोजना, सिमेन्ट, स्टिल, काठ, सिसा, पेन्ट्स, सेनिटरी, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, वर्षाको पानी संकलन तथा फोहोर व्यवस्थापनलगायत आधुनिक निर्माण सामग्री र प्रविधि प्रदर्शन गरिनेछ।

    वातावरणमैत्री प्रविधिलाई प्राथमिकता दिँदै यसपटक डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क तथा भर्चुअल रियालिटी (VR/AR) प्रविधिको प्रयोग गरी ‘पेपरलेस’ प्रदर्शनी बनाउने तयारी गरिएको छ।

    बाढी प्रभावितलाई सहयोग

    आयोजक संस्था व्यावसायिक गतिविधिमा मात्र सीमित नरही विपद्का समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ। रसुवा जिल्लामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि खाद्यान्न, लत्ताकपडा, औषधि तथा ड्रोन उपकरणसहित राहत सामग्री पठाइसकिएको र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३१ लाख नगद हस्तान्तरण गरिएको जनाइएको छ।

    निःशुल्क परामर्शदेखि स्वास्थ्य शिविरसम्म

    एक्स्पोमा भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुसम्बन्धी विषयमा विज्ञबाट अवलोकनकर्तालाई निःशुल्क परामर्श दिइनेछ। साथै, रक्तदान कार्यक्रम तथा श्रमण हस्पिटल र ग्राण्डी इन्टरनेशनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। रसुवाका बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य उपचार प्याकेजसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ।

    मेलाका क्रममा नीति निर्माणमा संलग्न अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, इन्जिनियर तथा आर्किटेक्टको सहभागितामा जलवायु परिवर्तन, विपद् प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनरुत्थान तथा सार्वजनिक–निजी साझेदारी (PPP) लगायत विषयमा सेमिनार तथा प्यानल छलफल हुनेछन्।

    त्यस्तै, नयाँ उद्यम स्थापना गरी कठिनाइ भोगिरहेका युवालाई लक्षित गरी छनोट भएका युवा उद्यमीलाई निःशुल्क तालिम तथा परामर्श प्रदान गरिनेछ।

    आयोजकका अनुसार बैंकिङ क्षेत्रमा तरलता सहज र ब्याजदर घट्दो क्रममा रहेको अवस्थामा उपभोक्तालाई उपयुक्त वित्तीय निर्णय लिन, सुलभ मूल्यमा घरघडेरी छनोट गर्न तथा सुरक्षित आवास सुनिश्चित गर्न एक्स्पो उपयोगी बन्नेछ। साथै, सरकारी निकायका प्रतिनिधिको सहभागिताले रियल इस्टेट क्षेत्रका नीतिगत तथा कानुनी सुधारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

    एक्स्पोमा ६५ हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अनुमान गरिएको छ। आयोजकले उपभोक्ता, लगानीकर्ता, निर्माण व्यवसायी तथा सञ्चारकर्मीलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar