सप्तकोशी डेभलपमेन्ट बैंकको पुँजीकोष न्यून, राष्ट्र बैंकद्वारा सीईओलाई नसिहत र सुधारात्मक कारबाही

  • कालिका खवर
  • बिहिबार, कार्तिक १३, २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको पुँजीकोष न्यून रहेको पाई शीघ्र सुधारात्मक कारबाही गरेको छ।

    राष्ट्र बैंकका अनुसार विकास बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात १० प्रतिशत हुनुपर्नेमा, २०८१ असार मसान्तमा सो अनुपात ४२.७ प्रतिशतले न्यून रहेको पाइएको थियो। पछिल्लो वित्तीय विवरण अनुसार २०८२ असार मसान्तमा बैंकको पुँजीकोष अनुपात घटेर ७.५१ प्रतिशतमा पुगेको छ।

    यस आधारमा राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४’ बमोजिम कारबाही गरेको हो।

    केन्द्रीय बैंकले सप्तकोशीका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेललाई नसिहत दिएको छ। राष्ट्र बैंकको स्थलगत निरीक्षण प्रतिवेदनमा बैंकले २०८१ मा प्रवाह गरेको चालु पुँजी प्रकृतिका कर्जामा आवश्यक कागजात बिना समयावधि थप गरेको, कर्जा नोक्सानी व्यवस्थासम्बन्धी विवरण यथार्थपरक नरहेको, र रिपोर्टिङ विश्वसनीय नभएको निष्कर्ष निकालेको थियो। यिनै कमजोरीका कारण सीईओ पोखरेललाई कारबाही गरिएको उल्लेख छ।

    त्यस्तै, राष्ट्र बैंकले बैंकका सञ्चालक समितिलाई पनि लिखित रूपमा सचेत गराएको छ। समितिलाई संस्थामा देखिएका समस्याहरू तुरुन्त सुधार गर्न र आगामी दिनमा दोहोरिन नदिन निर्देशन दिइएको छ।

    केन्द्रीय बैंकका अनुसार स्थलगत निरीक्षणका क्रममा देखिएका कैफियतहरू सुधार गर्ने जिम्मेवारी सञ्चालक समिति र व्यवस्थापन टोलीकै हुनेछ। साथै, प्रमुख कार्यकारी अधिकृतबाट भएका कमजोरीहरू सुधार गर्ने जिम्मेवारी पनि सोही स्तरमै रहनेछ।

    नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (ग) अनुसार लिखित आदेश जारी गरेको जनाएको छ।

    Enforcement-Action-FY-2082.83-First-Quarter-2

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar