सिटिजन्स बैंकले मधेश प्रदेशमा ‘हाइ–भोल्युम ग्रोथ’ र गुणस्तरीय कर्जामा जोड दिने

  • कालिका खवर
  • शुक्रबार, भदौ २६, २०८३
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरूको सहभागितामा “ड्राइभिङ हाइ–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/८४” विषयक सेमिनार आयोजना गरेको छ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलसहित वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताका विषयमा छलफल गरिएको बैंकले जनाएको छ। कार्यक्रममा केन्द्र र प्रदेशबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत गहन अन्तरक्रिया भएको थियो।

    मधेश प्रदेशका ८ जिल्लामा बैंकका २९ शाखा सञ्चालनमा रहेका छन्। प्रदेशमा बैंकको व्यवसाय विस्तारसँगै गुणस्तरीय कर्जा प्रवाह र बजार नेतृत्वलाई थप प्रभावकारी बनाउने विषयमा सेमिनार केन्द्रित रहेको जनाइएको छ।

    यसअघि बैंकले बागमती प्रदेशमा “लिडिङ फ्रम द फ्रन्ट: स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रदेश” तथा कोशी प्रदेशमा “एक्सेलेरेटिङ कमर्सियल मोमेन्टम: बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश” कार्यक्रम सम्पन्न गरिसकेको छ। सोही कार्यक्रमको निरन्तरतास्वरूप मधेश प्रदेशमा सेमिनार आयोजना गरिएको हो। बैंकले आगामी दिनमा अन्य प्रदेशमा पनि यस्ता कार्यक्रम क्रमशः आयोजना गर्ने जनाएको छ।

    कर्जा १.२४ प्रतिशत र निक्षेप ९.२२ प्रतिशत बढ्यो

    बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ७७ अर्ब ३३ करोड पुगेको छ। त्यस्तै, निक्षेप संकलन ९.२२ प्रतिशतले वृद्धि भई रु. २ खर्ब ३३ अर्ब ८१ करोड पुगेको छ।

    सो अवधिमा बैंकको खुद नाफा ६३.०५ प्रतिशतले वृद्धि भई रु. २ अर्ब ९ करोड ८६ लाख पुगेको बैंकले जनाएको छ।

    बैंकले विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गर्न सफल भएको जनाएको छ। यसअघि बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो।

    त्यसैगरी, बैंकले नवयुवालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। फ्रिलान्सरहरूलाई लक्षित गरी ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ पनि सुरु गरिएको बैंकले जनाएको छ।

    बैंकका अनुसार मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन तथा सीआरएन नम्बर सेवा लिन सकिने सुविधा र क्रस बैंक टेलर सेवासमेत सञ्चालनमा ल्याइएको छ। क्रस बैंक टेलर सेवामार्फत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकको शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

    हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइ मार्फत २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar