सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै

  • कालिका खवर
  • शुक्रबार, साउन ८, २०८३
  • नयाँ दिल्ली। ककरोच जनता पार्टी (सीजेपी) ले भारत सरकार शुक्रबार कन्स्टिच्युसन क्लबमा वार्ता गर्न तयार भएको जनाएको छ । वार्तामा बस्न सहमत भए पनि उनीहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा सहितका पुराना मागहरू भने कायमै राखेका छन्।

    सीजेपीका सौरभ दासले कुनै निष्पक्ष स्थानमा वार्ता हुनुपर्ने आफ्नो माग सरकारले स्वीकार गरेको बताएका हुन् । उनले भने, ‘वार्ताका लागि बैठक बोलाइएको छ। बैठक कुनै तटस्थ ठाउँमा होस् भन्ने हाम्रो मागमा सरकार सहमत भएकोमा हामीलाई धेरै खुसी लागेको छ। यसका लागि कन्स्टिच्युसन क्लब अफ इन्डियालाई छानिएको छ।’

    सीजेपीले निट पेपर लीक प्रकरणलाई लिएर जन्तर–मन्तरमा धर्ना दिँदै आएको छ। उनीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र शिक्षा क्षेत्रमा व्यापक सुधारको माग गरिरहेका छन् । परीक्षामा हुने धाँधलीविरुद्ध कडा कानुन ल्याउने प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणाप्रति टिप्पणी गर्दै सीजेपीले शिक्षा मन्त्रीलाई पदबाट हटाउनु नै सरकारको तर्फबाट हुने ‘सबैभन्दा कडा कारबाही’ हुने बताएको छ।

    यसैबिच, सरकारका तर्फबाट मागहरू पूरा गर्ने आश्वासन पाएपछि अभियन्ता सोनम वाङचुकले आफ्नो अनिश्चितकालीन भोक हडताल अन्त्य गरेका छन्। बिहीबार मध्यराति गुराउगाउँस्थित मेदान्ता अस्पतालमा केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँगको भेटघाटपछि उनले अनशन तोड्ने घोषणा गरेका हुन्।

    वार्ताको तयारीबारे जानकारी दिँदै सौरभ दासले भने, ‘आशुतोष र मलाई दिउँसो १२ः ४५ बजे जेपी नड्डा र जितेन्द्र सिंहलाई भेट्न बोलाइएको छ। पहिलो चरणको कुराकानीपछि हामीले दुई वटा माग राखेका थियौँ। हिजो हामीलाई कन्स्टिच्युसन क्लबमा बैठक हुने पुष्टि प्राप्त भयो।’

    दासले आन्दोलनमाथि वैदेशिक लगानीको आरोप लगाउनेहरूलाई प्रश्न गर्दै भने, ‘यदि हामीलाई वैदेशिक फन्डिङ मिल्छ भन्ने भाष्य फैलाइएको हो भने सरकारले सोनम वाङचुक र हामीसँग किन वार्ता गरिरहेको छ ?’
    आन्दोलनविरुद्ध अदालतमा दर्ता भएका जनहित याचिका र एनआईए छानबिनको मागबारे बोल्दै उनले थपे, ‘हामी देशका न्यायाधीशहरूलाई आफ्ना आदेश राजनीतिक कारणले प्रभावित नहुन वा हतियारका रूपमा प्रयोग हुन नदिन अपिल गर्दछौँ। हामी न्यायाधीशहरूलाई इतिहासको सही पक्षमा उभिन र सडकमा उत्रिएका देशका युवाको भविष्यको साथ दिन आग्रह गर्दछौँ।’

    दिल्लीमा सुरक्षा व्यवस्था कडा, १७ मेट्रो स्टेसन बन्द
    जन्तर(मन्तरमा भइरहेको विरोध प्रदर्शन र सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै शुक्रबार दिल्ली मेट्रोका १७ वटा स्टेसनहरू बन्द गरिएका छन्। सवारी साधनको आवगमनमा रोक र मेट्रो बन्द भएका कारण सेन्ट्रल दिल्लीका धेरै विद्यालयहरूले पठनपाठनको शैलीमा परिवर्तन गरेका छन् । कतिपय विद्यालयले साना कक्षाका लागि हाइब्रिड माध्यमबाट पढाउने व्यवस्था मिलाएका छन् भने केहीले नयाँ यातायात व्यवस्थासहित कक्षा सञ्चालन गरेका छन्।

    जन्तर-मन्तर वरपर भारी मात्रामा सुरक्षा बल परिचालन गरिएको छ। सेन्ट्रल दिल्लीमा ब्यारिकेड लगाउनुका साथै सवारी साधनलाई वैकल्पिक मार्गमार्फत पठाइएको छ।  यस्तै, प्रहरीले गत जुलाई २० मा भएको हिंसात्मक घटना, सुरक्षाकर्मीमाथिको आक्रमण र सार्वजनिक सम्पत्तिको तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गरी छानबिन अघि बढाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar