सिबिफिन र एनबिआईले युवा उद्यमशीलता सम्मेलन २०२६ आयोजना गर्दै

  • कालिका खवर
  • बिहिबार, अशोज ८, २०८३
  • काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्ष्टिच्युट (एनबिआई)को सहकार्यमा ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३’ आयोजना हुने भएको छ। एआई, युवा उद्यमशीलता र भविष्यको रोजगारीलाई मुख्य विषय बनाएर आगामी असोज २३ गते काठमाडौंमा सम्मेलन आयोजना गर्न लागिएको हो।

    सम्मेलन आयोजना गर्ने सम्बन्धमा सिबिफिन र एनबिआईबीच गत सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ। ‘नेक्स्टजेन नेपालः एआई, उद्यमशीलता र भविष्यको रोजगारी’ (NextGen Nepal: AI, Entrepreneurship & Employment for the Future) मुख्य नाराका साथ हुने सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार संस्था तथा विभिन्न कूटनीतिक नियोगका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

    समझदारी हस्ताक्षर कार्यक्रममा बोल्दै सिबिफिनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले सम्मेलनले वित्तीय पहुँच, वित्तीय समावेशीकरण, उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी सिर्जनामा प्रविधिको उपयोगजस्ता विषयमा केन्द्रित हुँदै बैंकिङ तथा वित्तीय क्षेत्र र युवा उद्यमीबीचको सम्बन्धलाई थप विस्तारित र व्यावसायिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

    उनले सिबिफिन र एनबिआईबीचको सहकार्यले युवा उद्यमीमा वित्तीय साक्षरता बढाउन, डिजिटल बैंकिङको उपयोग विस्तार गर्न तथा जिम्मेवार कर्जा उपभोगको संस्कृति विकास गर्न सहयोग पुग्ने बताए। साथै, बैंक तथा वित्तीय संस्थाका नवीन वित्तीय उत्पादन लक्षित वर्गसम्म पुर्‍याउन र उत्पादनशील क्षेत्रमा सुरक्षित कर्जा लगानी बढाउनसमेत सम्मेलनले योगदान गर्ने उनको भनाइ छ।

    त्यसैगरी, एनबिआईका कार्यकारी अध्यक्ष विशाल गैरेले दिगो आर्थिक विकासका लागि युवालाई उत्पादन र रोजगारीसँग जोड्न आवश्यक रहेको बताए। नीतिगत व्यवस्था, स्टार्टअपका लागि बिउ पुँजी तथा युवा उद्यममा वित्तीय पहुँचजस्ता विषय बैंक तथा वित्तीय संस्थासँग प्रत्यक्ष सम्बन्धित रहेकाले सिबिफिनसँगको सहकार्यले सम्मेलनलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ।

    देशभरबाट करिब ४०० उद्यमी, व्यवसायी तथा सरोकारवालाको सहभागिता रहने सम्मेलनले युवा उद्यमी तथा वित्तीय क्षेत्रमैत्री नीति निर्माण र लगानीको वातावरण सुधारका लागि आवश्यक दिशाबोध गर्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार सम्मेलनले स्टार्टअप, नवीन प्रविधि, नवप्रवर्तन तथा उद्यमशीलतामा अघि बढ्न चाहने युवा उद्यमीलाई मार्गदर्शन प्रदान गर्दै नेपालको वित्तीय क्षेत्रको दिगो विकास र युवा उद्यमशीलताको प्रवर्द्धनमा नयाँ आयाम थप्नेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar