सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ल्यायो अत्यधिक वर्षामा आधारित धान बीमा

  • कालिका खवर
  • सोमवार, अशोज १२, २०८३
  • काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिएर ‘अत्यधिक वर्षाको सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्राससम्बन्धी बीमालेख’ जारी गरेको छ।

    कम्पनीका अनुसार उक्त बीमालेख २०८३ असोज ७ गतेदेखि २०८३ मंसिर ७ गतेसम्म लागू हुनेछ। अत्यधिक वर्षाका कारण धान उत्पादनमा हुन सक्ने सम्भावित क्षतिको जोखिमलाई वर्षा सूचकांकका आधारमा सम्बोधन गर्दै क्षतिपूर्ति प्रदान गर्ने उद्देश्यले बीमालेख ल्याइएको हो।

    यस बीमालेखअन्तर्गत कैलाली, कञ्चनपुर, धनुषा, सिराहा, सर्लाही, बाँके, बर्दिया, दाङ र कपिलवस्तु जिल्लाका धान उत्पादक किसानलाई समेटिएको कम्पनीले जनाएको छ।

    बीमालेख जारी गर्न प्लान्टस्याट बाइ सिड इनोभेसन्स प्राइभेट लिमिटेडसँग साझेदारी गरिएको छ। बीमालेखमा प्रतिकट्ठा १ हजार ५९५ रुपैयाँ बीमाङ्क रकम कायम गरिएको छ।

    कम्पनीका अनुसार बीमालेख जारी भएको पहिलो दिन अर्थात् २०८३ असोज ७ गते नै करिब १ हजार ३०५ जना किसानको बीमालेख जारी गरिएको छ। सोही दिन करिब ३ हजार ३०४ कट्ठा क्षेत्रफलमा लगाइएको धानको बीमा गरिएको कम्पनीले जनाएको छ।

    यस बीमालेखअन्तर्गत किसानको व्यक्तिगत रूपमा भएको क्षतिको मूल्याङ्कनका आधारमा नभई तोकिएको तीन दिनको अधिकतम सञ्चित वर्षा (मिलिमिटर) को सूचकांकका आधारमा क्षतिपूर्ति प्रदान गरिनेछ।

    दाबी प्रक्रियामा कागजी झन्झट नहुने

    बीमालेखको प्रमुख विशेषतामध्ये सरल तथा स्वचालित दाबी भुक्तानी प्रक्रिया रहेको कम्पनीले जनाएको छ। तोकिएको वर्षा सूचकांकअनुसार दाबी भुक्तानीका लागि योग्य अवस्था सिर्जना भएमा किसानले बीमा कम्पनीमा छुट्टै फाराम, कागजात वा दाबीसम्बन्धी विवरण पेश गर्नुपर्ने छैन।

    सूचकांकका आधारमा भुक्तानीका लागि योग्य ठहरिएको दाबी रकम किसानको बैंक खातामा सिधै जम्मा हुने व्यवस्था गरिएको छ। यसबाट किसानले दाबी प्रक्रियामा आवश्यक पर्ने कागजी प्रक्रिया तथा अतिरिक्त समयको झन्झटबाट राहत पाउने कम्पनीको विश्वास छ।

    कम्पनीका अनुसार सूचकांकमा आधारित यस बीमालेखले अत्यधिक वर्षाका कारण धान उत्पादनमा कमी आई हुन सक्ने आर्थिक जोखिमलाई सरल, पारदर्शी तथा प्रविधिमा आधारित प्रक्रियामार्फत सम्बोधन गर्नेछ।

    यस्तो बीमालेखबाट धान उत्पादक किसानको सम्भावित आर्थिक क्षतिको जोखिम व्यवस्थापनमा सहयोग पुग्ने तथा कृषि क्षेत्रमा बीमाको पहुँच विस्तारमा समेत योगदान पुग्ने कम्पनीले अपेक्षा गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar