सार्वजनिक यातायातमा डिजिटल भुक्तानी विस्तार गर्न एनसीएचएल र जीआईजेडबीच सम्झौता

  • कालिका खवर
  • बिहिबार, अशोज १५, २०८३
  • काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र जर्मन सहयोग संस्था जीआईजेडबीच नेपालको मोबिलिटी तथा सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यले सम्झौता भएको छ।

    सम्झौतामा जीआईजेड–सेट फोर एनपीएलका प्रोग्राम म्यानेजर डिएगो सिनियर र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

    सम्झौताअन्तर्गत एनसीएचएलको राष्ट्रिय भुक्तानी पूर्वाधार प्रयोग गर्दै जीआईजेडको सेट फोर एनपीएल परियोजनामार्फत सार्वजनिक यातायातसम्बन्धी भुक्तानी प्रणालीलाई थप डिजिटल बनाउने तयारी गरिएको छ।

    यसक्रममा यातायात टिकटिङ प्रणाली, मोबिलिटी एप्लिकेसन, उपकरण तथा अन्य डिजिटल प्लेटफर्ममा नेपालपे क्यूआर, नेपालपे कार्ड र कनेक्टआईपीएस लगायतका भुक्तानी माध्यम एकीकृत गरिनेछ। एनसीएचएलका अनुसार यसबाट यात्रुले विभिन्न सार्वजनिक यातायात सेवामा एउटै डिजिटल भुक्तानी पूर्वाधारमार्फत भाडा तिर्न सक्ने वातावरण बन्नेछ।

    ‘ओपन–लूप टिकटिङ’ प्रणालीमा जोड

    सहकार्यअन्तर्गत ‘ओपन–लूप टिकटिङ’ प्रणालीलाई समेत प्रवर्द्धन गरिने भएको छ। यसले विभिन्न यातायात सेवाका लागि छुट्टाछुट्टै कार्ड वा भुक्तानी प्रणाली प्रयोग गर्नुपर्ने अवस्थालाई क्रमशः कम गर्ने अपेक्षा गरिएको छ।

    यस प्रणालीमार्फत टिकटिङ, भाडा संकलन, कारोबार प्रोसेसिङ तथा सेटलमेन्टसम्मका प्रक्रियालाई डिजिटल बनाउन सहयोग पुग्ने बताइएको छ।

    एनसीएचएलले प्रणाली एकीकरण, परीक्षण तथा डिप्लोयमेन्टका लागि आवश्यक एपीआई तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ। यता, जीआईजेड–सेट फोर एनपीएलले परियोजनाअन्तर्गत विकास गरिएका टिकटिङ प्रणाली, एप्लिकेसन तथा उपकरणमा एनसीएचएलका डिजिटल भुक्तानी माध्यम जोड्न सहजीकरण गर्नेछ।

    एनसीएचएलले यस सहकार्यलाई सार्वजनिक यातायात हुँदै भविष्यमा विकास हुने विभिन्न मोबिलिटी सेवामा राष्ट्रिय डिजिटल भुक्तानी पूर्वाधार विस्तार गर्ने महत्वपूर्ण पहलका रूपमा लिएको छ।

    सार्वजनिक यातायातमा नगदमा आधारित भाडा संकलनलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्दा यात्रुको सुविधा बढ्नुका साथै कारोबारमा पारदर्शिता र भाडा व्यवस्थापनमा समेत सुधार आउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar