सार्वजनिक यातायातका समस्या समाधान गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री बानियाँ

  • कालिका खवर
  • शनिबार, असार २७, २०८३
  • काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका बहुआयामिक समस्याहरू समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज सिटौला नेतृत्वको टोलीसँगको भेटघाटका क्रममा मुख्यमन्त्री बानियाँले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । भेटका क्रममा अध्यक्ष सिटौलाले बागमती प्रदेश, विशेषगरी काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको ट्राफिक समस्या, सडक दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई दिइने क्षतिपूर्ति र घाइतेहरूको उपचारका क्रममा आइपर्ने व्यावहारिक कठिनाइहरू समाधानका लागि सहजीकरण गरिदिन प्रदेश सरकारसमक्ष आग्रह गरेका थिए ।

    अध्यक्ष सिटौलाले हाल दुर्घटनाका घाइतेहरूको महँगो निजी अस्पतालमा उपचार गर्नुपर्ने बाध्यता रहेको र बिमाबाट ३ लाख रुपैयाँ मात्र क्षतिपूर्ति प्राप्त हुने भएकाले व्यवसायीहरू समस्यामा परेको गुनासो गरे । सो गुनासो र आग्रहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले यातायात क्षेत्रका बहुआयामिक समस्या समाधानका लागि व्यवसायीहरूसँग मिलेर अघि बढ्न सरकार तयार रहेको बताए । घाइतेहरूको उपचार सहज बनाउन प्रदेश सरकार मातहतका अस्पतालहरूमा ट्रमा सेन्टरको विकास गरिने उनले जानकारी दिए। घाइतेहरूको उपचार पहिलो प्राथमिकतामा राखी सरकारी अस्पतालहरूमा मात्र उपचार गर्ने प्रबन्ध मिलाउन आवश्यक कानुनी व्यवस्थाका लागि प्रदेश सरकारले पहल गर्ने उनले स्पष्ट पारे ।

    मुख्यमन्त्री बानियाँले बागमती प्रदेशमा संघीय राजधानी समेत समेटिएको र देशको कुल सवारी चापको ६० प्रतिशतभन्दा बढी भार यसै प्रदेशमा रहेकाले सार्वजनिक यातायातका समस्याहरू समाधान गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गरे । यो चुनौतीका बाबजुद पनि यातायात क्षेत्रका समस्याहरू क्रमशः समाधान गर्दै लैजान प्रदेश सरकार व्यवसायीहरूसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो  ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar