सांसदहरूको शपथग्रहण १२ गते दिउँसो २ बजे सिंहदरबारमा

  • कालिका खवर
  • शुक्रबार, चैत्र ६, २०८२
  • काठमाडौँ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण चैत १२ गते दिउँसो २ बजे हुने भएको छ। संघीय संसद् सचिवालयले आज सूचना जारी गर्दै उक्त जानकारी दिएको हो।

    सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा आयोजना हुनेछ। सचिवालयले शपथ ग्रहणका लागि सहभागी सांसदहरूलाई निर्धारित समयभन्दा कम्तीमा दुई घण्टा अगावै उपस्थित हुन अनुरोध गरेको छ।

    त्यस्तै, कार्यक्रममा आउँदा केही आवश्यक कागजातहरू अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो ल्याउनुपर्ने सूचनामा उल्लेख छ।

    सांसदहरूलाई आफ्नो सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन पनि सचिवालयले आग्रह गरेको छ। नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सांसदहरूले शपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी त्यसको प्रतिलिपि कार्यक्रम हुनुभन्दा तीन दिनअघि नै संघीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar