सांसद पद राज्यका संस्थालाई तर्साउने लाइसेन्स होइन : महेश बर्तौला

  • कालिका खवर
  • बुधबार, अशोज २१, २०८३
  • काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्व मुख्य सचेतक महेश बर्तौलाले सांसद पद राज्यका संस्थालाई तर्साउने, धम्क्याउने वा राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउने लाइसेन्स नभएको बताएका छन्।

    बर्तौलाले प्रहरी संगठनका प्रमुख वा कुनै पनि अधिकारीबाट कानूनविपरीत काम भएको भए निष्पक्ष छानबिन गरी दोष प्रमाणित भए कानूनबमोजिम तत्काल कारबाही गर्नुपर्ने बताएका छन्। तर सत्तापक्षका एक सांसदले राज्यको जिम्मेवार सुरक्षा संगठनका प्रमुख तथा पदाधिकारीमाथि निरन्तर सार्वजनिक रूपमा लाञ्छना लगाउने, चरित्रहत्या गर्ने, तर्साउने र धम्की दिने गतिविधि गरिरहेको भन्दै उनले आपत्ति जनाएका छन्।

    उनले यस्तो गतिविधिलाई ‘सत्तारुढ सांसदको दादागिरी र सत्ताको रवाफको पराकाष्ठा’को संज्ञा दिएका छन्। उनका अनुसार सांसद पद जनताको प्रतिनिधित्व गर्ने गरिमामय संवैधानिक जिम्मेवारी हो, व्यक्तिगत आक्रोश पोख्ने वा राज्यका संस्थामाथि दबाब सिर्जना गर्ने माध्यम होइन।

    बर्तौलाले लोकतन्त्रमा राज्यका संस्था र जिम्मेवार अधिकारीमाथि प्रश्न उठाउन तथा आलोचना गर्न पाइने भए पनि आलोचनाका नाममा धम्की, अराजकता र चरित्रहत्या गर्ने छुट कसैलाई नभएको बताएका छन्।

    राज्यका संस्थालाई कमजोर बनाउने र राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउने गतिविधिप्रति सरकार र सम्बन्धित राजनीतिक दल गम्भीर हुनुपर्ने उनको भनाइ छ। उनले यस विषयमा सरकार तथा सम्बन्धित दलको ध्यानाकर्षणसमेत गराएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar