सामसुङको ठूलो घोषणा : एआई माग पूरा गर्न पाँच वर्षमा ३१० अर्ब डलर लगानी

  • कालिका खवर
  • सोमवार, मंसिर १, २०८२
  • सियोल । दक्षिण कोरियाली प्राविधिक उत्पादन समूह सामसुङले आगामी पाँच वर्षभित्र ३१० अर्ब अमेरिकी डलर लगानी गर्ने विशाल योजना सार्वजनिक गरेको छ। विश्वभर तीव्र गतिमा बढ्दै गएको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको मागलाई पूरा गर्न सामसुङले यो दीर्घकालीन रणनीति अघि सारेको हो।

    पहिले नै विश्वकै अग्रणी मेमोरी–चिप निर्माताहरूमा रहेका सामसुङ इलेक्ट्रोनिक्सले एआई उद्योगका लागि अत्यावश्यक चिप्स र पूर्वाधार उपलब्ध गराउँदै आएको छ। सेमिकन्डक्टर उद्योगमा दक्षिण कोरियाका अर्को प्रमुख उत्पादक एसके हाइनिक्ससँगै सामसुङ विश्व चिप बजारको केन्द्रबिन्दु मानिन्छ।

    सामसुङले सार्वजनिक गरेको पाँच वर्षे लगानी प्याकेजमा ‘मेमोरी चिप्सको बढ्दो माग पूरा गर्न’ प्योङटेक प्लान्ट–५ नामक नयाँ सेमिकन्डक्टर उत्पादन केन्द्र निर्माण गर्ने योजना समावेश छ। कम्पनीका अनुसार नयाँ प्लान्ट पूर्ण रूपमा सञ्चालनमा आएपछि विश्वव्यापी सेमिकन्डक्टर आपूर्ति श्रृंखला मजबुत हुनेछ र दक्षिण कोरियाको घरेलु चिप्स क्षमतामा ऐतिहासिक वृद्धि हुनेछ। प्लान्टले सन् २०२८ बाट उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।

    कम्पनीले विस्तृत विवरण नदिए पनि सामसुङ एसडीएसले दक्षिण जियोला र गुमी क्षेत्रमा दुईवटा अत्याधुनिक एआई डेटा सेन्टर स्थापना गर्ने जनाएको छ। एआई–सम्बन्धित ऊर्जा माग र डेटा प्रशोधन क्षमताका कारण सामसुङको तेस्रो त्रैमासिक नाफा अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

    विश्वभर एआईमा भइरहेको अनियन्त्रित खर्च तथा प्रविधिमा देखिएको उच्च मूल्यांकनले सम्भावित ‘एआई–फोका’ फुट्न सक्छ भन्ने चिन्ता बढिरहेका बेला सामसुङको यो लगानी योजना आएको हो।

    यस्तै, दक्षिण कोरियाली सरकारले अर्को वर्ष एआई क्षेत्रमा तीन गुणाले बढी खर्च गर्ने जनाएपछि सामसुङले आफ्नो दीर्घकालीन रणनीति सार्वजनिक गरेको विश्लेषण गरिएको छ।

    राष्ट्रपति ली जे–म्युङले ‘एआई युगको सुरुवात’ गर्ने र दक्षिण कोरियालाई संयुक्त राज्य अमेरिका र चीनपछि विश्वकै शीर्ष तीन एआई शक्तिमध्ये एक बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। -एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar