रसुवा बाढीबारे फैलाइएका भ्रामक सूचनाबाट सचेत रहन प्राधिकरणको आग्रह

  • कालिका खवर
  • सोमवार, भदौ २२, २०८३
  • काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि सार्वजनिक भएका गलत भिडियो र भ्रामक सूचनाबारे सचेत रहन आग्रह गरेको छ ।

    सोमबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले घटनास्थलमै नभएका केही फेक भिडियोहरू सामाजिक सञ्जालमा फैलिएर जनमानसमा नकारात्मक प्रभाव परेको पाइएको बताएका हुन् ।

    आधिकारीक व्यक्तिहरुबाट आएका भनिएका भिडियोहरूलाई समेत सामाजिक सञ्जाल हेर्ने टिममार्फत फ्याक्ट चेक गर्दा फेक पाइएकाले त्यस्ता भ्रामक सूचनाबारे सचेत रहन उनले आग्रह गरे । चीनसँग समन्वय र विज्ञताको आदानप्रदान गरी खोज, उद्धार तथा राहत कार्यमा कुनै कसर बाँकी नराखिएको उनको भनाइ छ ।

    बेपत्ता भएकाहरूको नाम आउनेबित्तिकै तीनवटै सुरक्षा निकाय तथा फिल्डमा खटिएका टिमलाई पठाएर खोज तथा उद्धार जारी राखिएको उनले बताए ।

    उप्रेतीले खोज तथा उद्धारमा खटिएका हेलिकप्टर खाली भएको समयमा काठमाडौँबाट नभई त्रिशूली वा रसुवाबाटै खाद्य सामग्री, राहत, बिजुली तथा सञ्चारका उपकरणहरू प्रभावित क्षेत्रमा पठाउने प्रयास भइरहेको जानकारी पनि दिएका छन् । राहत नपाएको गुनासो आएका ठाउँमा स्थानीय सरकारसँग निरन्तर समन्वय गरी सम्बोधन गर्ने कार्य भइरहेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar