रास्वपाको बन्दसूचीप्रति तोसिमा कार्कीको आपत्ति

  • कालिका खवर
  • बुधबार, पुस १६, २०८२
  • काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिकको बन्नसूचीप्रति आपत्ति जनाएकी छन् । पार्टीले समानुपातिकको अवधारणाविपरीत सूची पेस गरेको भन्दै सामाजिक सञ्जालमार्फत कार्कीले आफन्तवाद र नातावादको अन्त्य गर्न माग गरेकी हुन् । उनले कर्णाली र सुदूरपश्चिमका नागरिकसँगको तस्वीर पोष्ट गर्दै समानुपातिकले निषेध नभई समावेश गराउनु पर्ने बताउँदै रास्वपाले पेस गरेको सूचीले समानुपातिक प्रणालीको औचित्यमाथि नै प्रश्न गरेको बताएकी छिन् ।

    ‘समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरुले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो । सूचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ । सूचीले कर्णाली बोल्नुपर्छ । सुदूरपश्चिम बोल्नुपर्छ । सूचीले गाउँ बोल्नुपर्छ,’ उनले भनेकी छन्, ‘तर, पार्टीको नेतृ्त्वका आफन्तहरु र पार्टीको भाइटल पोष्टमा हुनेहरु नै समानुपातिक सूचीको लागि आकाङ्क्षि हुनु र त्यही आफ्नो स्पेस बनाउनु÷बनाइनुले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न गरेको छ । समानुपातिकले समावेश गराउनुपर्छ निषेध होइन !’

    उनले पार्टीका पदाधिकारीहरुलाई समानुपातिकमा राखिएकोप्रति पनि असन्तुष्टि व्यक्त गर्दै पार्टीले प्राइमरी भोटिङको धज्जी उडाएको आरोप लगाएकी छन् । उनले अघि लेखेकी छन्, ‘फेरि पनि भन्छु, पार्टीको भाइटल पोसिसनमा बस्ने साथीहरुले प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ । अहिले त झन् पार्टी यति ठूलो भएको छ, साथीहरु किन डराउनुभएको ?’ उनले पार्टी पदाधिकारी तथा सचिवालय सदस्यहरुले आ–आफ्नो नाम समानुपातिकको सूचीबाट हटाएर प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्ने माग गरेकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar