रास्वपा कर्णाली अधिवेशन आज, सभापतिमा पाँचजनाको दाबी

  • कालिका खवर
  • आइतवार, जेष्ठ ३१, २०८३
  • सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको प्रथम अधिवेशन आज (जेठ ३१) सुर्खेतको वीरेन्द्रनगरमा हुँदै छ । बिहान ११ बजेदेखि सुरु हुने अधिवेशन उद्घाटनसत्रमा पार्टीका महामन्त्री भूपदेव शाह र सहमहामन्त्री विपिन आचार्यले सम्बोधन गर्ने कार्यक्रम छ ।

    अधिवेशनबाट आउँदो पाँच वर्षका निम्ति पार्टीको प्रदेश नेतृत्व चयन गरिनेछ । रास्वपा केन्द्रीय महाधिवेशन प्रतिनिधि एवं नेता सुदीप पुरीले अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।

    कर्णालीका १० जिल्लाबाट प्रतिनिधि वीरेन्द्रनगर आइसकेका छन् ।

    प्रदेश सभापति पदका निम्ति पाँच नेता आकांक्षीका रूपमा देखिएका छन् । वर्तमान प्रदेश सभापति मदन खड्का नेतृत्वमा दोहोरिने तयारीमा छन् । उनीसँगै दैलेखका नन्दकिशोर बस्नेत, वर्तमान प्रदेश कोषाध्यक्ष स्नेहा उपाध्याय, रुकुम पश्चिमका प्रेमबहादुर बोहोरा र मानबहादुर शाही सभापतिमा प्रतिस्पर्धाको तयारीमा छन् ।

    नेतृत्व चयन सकेसम्म सहमतिमार्फत टुंग्याउने प्रयास भइरहेको छ । सहमति नभए निर्वाचन प्रक्रियामा जाने सम्भावना रहेको नेताहरूको भनाइ छ ।

    सभापतिको दौडमा रहेका नन्दकिशोर बस्नेत पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नेकपा (एमाले) परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए । रास्वपाको टिकटबाट दैलेख–१ मा प्रतिनिधिसभा सदस्यका उमेदवार बनेका उनी नेपाली कांग्रेसकी बासना थापासँग हारेका थिए ।

    यस्तै, ०७९ सालको आमनिर्वाचनपछि नेकपा (माओवादी केन्द्र) छाडेर रास्वपामा आबद्ध भएका मानबहादुर शाही रुकुम पश्चिम जिल्ला सभापति भइसकेका व्यक्ति हन् । अर्का आकांक्षी प्रेमबहादुर बोहोरा पनि रुकुम पश्चिमकै हुन् । उनी यसअघि प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको समानुपातिकतर्फ खसआर्य समूहको बन्दसूचीमा समावेश भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar