राहत खाद्य सामग्रीदेखि डेरी र होटलसम्म अनुगमन, कैफियत भेटिएका व्यवसायलाई निर्देशन

  • कालिका खवर
  • बिहिबार, अशोज १, २०८३
  • काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भोटेकोशी बाढीपीडितका लागि पठाउन तयारी अवस्थामा राखिएका राहत खाद्य सामग्री तथा काठमाडौं उपत्यकाका विभिन्न खाद्य व्यवसायको अनुगमन गरेको छ। अनुगमनका क्रममा केही खाद्य व्यवसायमा खाद्य स्वच्छता, भण्डारण, लेबलिङ तथा खाद्य पदार्थको प्रयोगसम्बन्धी कैफियत भेटिएको विभागले जनाएको छ।

    विभागका अनुसार २०८३ साल भदौ ३१ गते भोटेकोशी बाढीपीडितका लागि उपलब्ध गराइने राहत खाद्य सामग्रीको निरीक्षण गरिएको थियो। सामाखुसीस्थित राधा स्वामी सत्सङ्गमा गरिएको अनुगमनका क्रममा सोयाबिन तेल, सनफ्लावर तेल, नमकिन, चिउरा, फुरनदाना, चियापत्ती लगायतका खाद्य सामग्री राहतका लागि पठाउन तयारी अवस्थामा राखिएको पाइएको थियो।

    अनुगमनका क्रममा ती खाद्य सामग्रीको लेबलमा ब्याच नम्बर तथा उत्पादन/प्याकेजिङ गर्ने उद्योगको नाम र ठेगाना उल्लेख भएको पाइएको विभागले जनाएको छ। राहत सामग्री वितरण गर्दा असल वितरण अभ्यास (Good Distribution Practice) अपनाउन पनि निर्देशन दिइएको छ।

    यसैगरी, विभागले काठमाडौं डिभिजन कार्यालयसहितको संयुक्त टोलीमार्फत उजुरी तथा गुनासो व्यवस्थापनका लागि आकस्मिक अनुगमन गरेको थियो। टोलीले ललितपुरको धापाखेलमा रहेका दुई डेरी तथा काठमाडौंका दुई भोजनालयको निरीक्षण गरेको जनाएको छ।

    धापाखेलस्थित नेपाल डेरी प्रालि. मा चिजमा झिंगा परेको भन्ने गुनासोका आधारमा गरिएको अनुगमनमा उद्योगको भण्डारण कक्ष अव्यवस्थित रहेको तथा उत्पादन कक्षमा पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थ रहेको पाइएको थियो। सरसफाइको अवस्था सामान्य रहेको र कर्मचारीको व्यक्तिगत सरसफाइ सन्तोषजनक रहेको विभागले जनाएको छ।

    उक्त उद्योगबाट पूर्ण लेबल विवरण नभएको १५ किलो ‘केजिन’ नष्ट गरिएको तथा थप अनुसन्धानका लागि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम नमुना संकलन गरिएको विभागले जनाएको छ। उद्योगको अनुमतिपत्र नवीकरण प्रक्रियामा रहेको पनि अनुगमन विवरणमा उल्लेख छ।

    त्यस्तै, रश्मी एन्ड रोजन डेरी मा खुला दूध फ्रिजबाहिर राख्दा पनि नफाटेको भन्ने गुनासोका आधारमा अनुगमन गरिएको थियो। विभागको मोबाइल भ्यानमा गरिएको प्रयोगशाला परीक्षणमा दूधमा न्यूट्रालाइजर र स्टार्चको उपस्थिति नपाइएको विभागले जनाएको छ। डेरीमा सरसफाइको अवस्था सामान्य रहेको तथा खुला दही र दूध बिक्रीवितरण भइरहेको पाइएको थियो। उक्त डेरीले घ्यू समेत उत्पादन गर्ने गरेको अनुगमनका क्रममा खुलेको छ। विभागले खाद्य स्वच्छता कायम गर्न निर्देशन दिएको छ।

    काठमाडौं–३ अन्तर्गत महाराजगञ्ज पानीपोखरीस्थित लुम्बिनी तन्दुरी भोजनालय मा तयारी खानामा सांङ्ला परेको भन्ने गुनासोका आधारमा गरिएको अनुगमनमा सरसफाइ सन्तोषजनक नदेखिएको विभागले जनाएको छ। किट नियन्त्रणको व्यवस्था प्रभावकारी नभएको, भान्सामा पर्याप्त उज्यालो नभएको, Exhaust System नभएको तथा व्यक्तिगत सरसफाइ पनि सन्तोषजनक नपाइएको अनुगमन विवरणमा उल्लेख छ।

    त्यसैगरी खाना पकाउने र भाँडा माझ्ने स्थान सँगसँगै रहेको, भुइँ तथा भित्ताको सरसफाइमा कमी रहेको, भित्ताको रंग तथा प्लास्टर उक्किएको र फ्रिजमा खाद्य पदार्थ अव्यवस्थित रूपमा भण्डारण गरिएको पाइएको छ।

    विभागले उक्त भोजनालयलाई किट नियन्त्रण प्रभावकारी बनाउन, सरसफाइमा विशेष ध्यान दिन, पर्याप्त उज्यालो र Exhaust System को व्यवस्था गर्न, खाना पकाउने तथा भाँडा माझ्ने स्थान छुट्टाछुट्टै बनाउन, भित्तामा प्लास्टर तथा पेन्टिङ गर्न र फ्रिजमा खाद्य पदार्थ सुरक्षित तथा उचित रूपमा भण्डारण गर्न निर्देशन दिएको छ। कैफियत सुधार गरी सात दिनभित्र विभागमा उपस्थित हुन समेत निर्देशन दिइएको छ।

    यस्तै, न्यू दोलखाली खाना एन्ड फास्ट फूड सर्भिस मा कृत्रिम खाद्य रंगको अव्यवस्थित प्रयोग भएको तथा एउटै तेल पटक–पटक खाद्य पदार्थ तार्न प्रयोग गरिएको पाइएको विभागले जनाएको छ। प्रयोग गरिएको तेलको TPM value २४ मापन भई मापदण्ड प्रतिकूल देखिएपछि करिब ५०० मिलिलिटर तेल नष्ट गरिएको छ।

    उक्त व्यवसायलाई कृत्रिम खाद्य रंग व्यवस्थित रूपमा प्रयोग गर्न, काँचो तथा पाकेको खाद्य पदार्थ अलग-अलग भण्डारण गर्न र फ्रिजमा खाद्य पदार्थ राख्दा पहिचान प्रणाली कायम गर्न निर्देशन दिइएको छ।

    विभागका अनुसार उक्त दिन कुल चारवटा खाद्य व्यवसायको अनुगमन गरिएको थियो। अनुगमन टोलीको नेतृत्व वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले गरेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar