पर्यटन मन्त्रालयका पूर्वसचिव अधिकारीसहित २१ विरुद्ध भ्रष्टाचार मुद्दा

  • कालिका खवर
  • आइतवार, चैत्र ८, २०८२
  • काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दा दायर भएकाहरुमा अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, राजन पोख्रेल र प्रदीप अधिकारीसहित २१ जना छन्।

    उनीहरुसँग ४६ करोड १५ लाख ८४ हजार ४ सय ३४ रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले मुद्दा चलाएको हो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा परामर्श सेवा खरिदमा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

    प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल, सोही आयोजनाका उपनिर्देशक प्रवीण न्यौपाने, प्रबन्धक चाँदमाला श्रेष्ठ, विमानस्थलका तत्कालीन आयोजना प्रमुख विनेश मुनकर्मी, लेखा अधिकृत नरेन्द्रराज सैंजु, प्रमोद नेपाल, सविन फुयाल, तत्कालीन उपप्रबन्धक हिमज्योती थापा, अधिकृत राजाराम चौधरी, परामर्शदाता कम्पनी स्लाट जेभीको मुख्य काम गर्ने यमबहादुर भण्डारी, उद्धव चौलागाई, शोभेन्द्रराज जोशी, प्रमोद दवाडी र निर्माण व्यवसायी चिनिया सीएएमसी र यसको मुख्य भई काम गर्ने वाङ बो, प्रोजेक्ट म्यानेजर याङ झियाङलाई प्रतिवादी बनाइएको छ। उनीहरुलाई कसुर अनुसार छुट्टा छुट्टै सबिगो कायम गरिएको छ।

    उनीहरुको मिलेमतो र संलग्नतामा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा परामर्श सेवा खरिदका क्रममा उक्त बिगो बराबरको रकम भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। पोखरा विमानस्थल भ्रष्टाचारको यो दोस्रो मुद्दा हो। यसअघि पनि उनीहरुसहितलाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो। उक्त मुद्दामा अझै पुर्पक्ष सहिएको छैन। अधिकारी भने अर्कै मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar