पोखरामा फेवा महोत्सवको तयारी तीव्र

  • कालिका खवर
  • शुक्रबार, चैत्र २०, २०८२
  • पोखरा । हरेक नयाँ वर्षका अवसरमा पोखरामा आयोजना हुने फेवा नव वर्ष महोत्सवको तयारी तीव्र बनाइएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा यही चैत २९ देखि वैशाख १ गतेसम्म हुन लागेको २१ औँ संस्करणको फेवा नववर्ष महोत्सवको तयारी तीव्र पारिएको हो ।

    होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले यही चैत २९ गतेदेखि सुरु हुने फेवा नववर्ष महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताए । वैशाख १ गतेसम्म खहरेचोक देखि सहिद चोकको बिच सडकमा सञ्चालन हुने महोत्सवमा पर्यटन, संस्कृति र खानालाई महत्त्व दिएर महोत्सव सञ्चालन हुने उनले बताए ।

    महोत्सवको अवसरमा पर्यटकहरूलाई लक्षित गरी सांस्कृतिक कार्यक्रमसँगै, खाना प्रदर्शनी, परम्परागत पञ्चेबाजा प्रतियोगिता, पर्यटक दौड प्रतियोगिता, कन्सर्ट प्रमुख आकर्षकको रूपमा राखिएको छ ।

    महोत्सव सफल बनाउन नेपालका विभिन्न सहरहरूमा पुगेर होटल संघ पोखराले नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा ‘जाउँ है पोखरा अभियान’ बाट फेवा नववर्ष महोत्सवको निमन्त्रणा गरेको छ । महोत्सव अवधिभर करिब ३ लाख आन्तरिक तथा बाह्य पर्यटक पोखरा भित्र्याउने लक्ष्य राखिएको आयोजकले जनाएका छन् । होटल संघ पोखरा नेपालमा करिब ४ सय २५ वटा होटल आबद्ध छन् भने, १५ हजार बढी कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar