पेप्सीकोलामा नेपालकै ठूलो ईभी कमर्सियल सर्भिस सेन्टर बनाउँदै फोटोन

  • कालिका खवर
  • सोमवार, अशोज १९, २०८३
  • काठमाडौं । एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रालिले नेपालमा फोटोन ब्रान्डका कमर्सियल सवारीसाधनको बिक्रीपछिको सेवा थप सुदृढ बनाउन काठमाडौंको पेप्सीकोलामा नेपालकै ठूलो अत्याधुनिक ईभी कमर्सियल सर्भिस सेन्टर स्थापना गरिरहेको छ। कम्पनीले आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा पर्याप्त सेवा क्षमतासहितको सर्भिस सेन्टर निर्माण गरिरहेको जनाएको छ।

    नयाँ सर्भिस सेन्टरबाट फोटोनका सवारीसाधनको बिक्रीपछिको सेवा, जेन्युइन पार्टपुर्जाको उपलब्धता, ब्याट्री परीक्षण, नियमित मर्मतसम्भार तथा चालक र प्राविधिक तालिमसमेत एउटै स्थानबाट उपलब्ध गराउने योजना रहेको कम्पनीले जनाएको छ। यसबाट ग्राहकले सहज, छिटो र भरपर्दो सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

    सर्भिस सेन्टरमा फोटोनका अन्तर्राष्ट्रिय संस्थाबाट तालिम तथा प्रमाणपत्र प्राप्त दक्ष प्राविधिक र इन्जिनियरहरूको टोली रहनेछ। उनीहरूले कम्पनीले निर्धारण गरेका सेवा मापदण्डअनुसार सवारीसाधनको निरीक्षण, प्राविधिक परीक्षण तथा आवश्यक मर्मतसम्भार गर्ने कम्पनीले जनाएको छ।

    फोटोन मोटर नेपालका प्रमुख कार्यकारी अधिकृत डा. अनिल कुमार बरालले बिक्रीपछिको गुणस्तरीय सेवा कम्पनीको पहिलो प्राथमिकता रहेको बताए। उनका अनुसार सवारीसाधन बिक्री गर्नु मात्रै कम्पनीको जिम्मेवारी नभई ग्राहकलाई गुणस्तरीय सेवा, जेन्युइन पार्ट्स र व्यावसायिक प्राविधिक सहयोग सहज रूपमा उपलब्ध गराउनु पनि कम्पनीको दायित्व हो।

    नयाँ सर्भिस सेन्टरमा फोटोनका विभिन्न मोडलका सवारीसाधनलाई सेवा दिन आवश्यक आधुनिक जाँच तथा मर्मत प्रणाली जडान गरिनेछ। साथै, जेन्युइन पार्टपुर्जा पर्याप्त मात्रामा व्यवस्थित रूपमा भण्डारण गरिने भएकाले आवश्यक पार्ट्स समयमै उपलब्ध हुँदा मर्मतसम्भारमा हुने ढिलाइ घट्ने कम्पनीको अपेक्षा छ। यसबाट सवारीसाधन छिटो मर्मत गरी ग्राहकलाई समयमै हस्तान्तरण गर्न सहयोग पुग्नेछ।

    हाल फोटोनको नेपालभर २१ वटा सर्भिस सेन्टर तथा सर्भिस टच प्वाइन्ट रहेको कम्पनीले जनाएको छ। राष्ट्रव्यापी सेवा विस्तार योजनाअन्तर्गत सन् २०२६ को अन्त्यसम्म पूर्वदेखि पश्चिम नेपालका प्रमुख मार्गहरूमा प्रत्येक १०० किलोमिटरभित्र फोटोनको टच प्वाइन्ट उपलब्ध गराउने लक्ष्य कम्पनीले राखेको छ।

    पेप्सीकोलामा सञ्चालनमा आउने नयाँ सर्भिस सेन्टरलाई कम्पनीले बिक्रीपछिको सेवा पूर्वाधार विस्तारमा महत्वपूर्ण लगानीका रूपमा लिएको छ। सञ्चालनमा आएपछि यसले काठमाडौं उपत्यकाका फोटोन ग्राहकलाई थप प्रभावकारी सेवा उपलब्ध गराउनुका साथै देशभरको बिक्रीपछिको सेवा सञ्जाललाई समेत थप मजबुत बनाउने कम्पनीको विश्वास छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar