पदाधिकारी तहका नेताहरूसँग ‘वान टु वान’ छलफलमा ओली

  • कालिका खवर
  • मङ्लबार, अशोज ७, २०८२
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी कमिटीको बैठक नबोलाउने भएका छन् । अध्यक्ष ओलीले अहिले पदाधिकारी तहका नेताहरूसँग वान टु वान छलफल गरिरहेको र त्यो छलफल सकेपछिमात्र पार्टीको बैठक बोलाइने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम बताउँछन् । अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिवहरू पद्‍मा अर्याललगायतसँग छलफल गरेका हुन् । ‘अध्यक्षले अहिले वान टु वान छलफल गरिरहनुभएको छ’, गौतमले भने, ‘सबैको एक मत भएपछि सचिवालय बैठक बसेर पार्टीले आफ्नो धारणा सार्वजनिक गर्छ ।’

    पार्टी कमिटीको बैठक दसैँअघि वा पछि भन्नेचाहिँ निश्चित भइनसकेको गौतमको भनाइ छ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक अवस्था बदलिएको छ । आन्दोलनपछि गैर दलीय सरकार गठन, प्रतिनिधि सभा विघटन र फागुन २१ मा निर्वाचनको मिति तोकिएको छ । संसद विघटनलाई प्रमुख राजनीतिक दलहरूले गैरसंवैधानिक भन्दै आएका छन् । नयाँ परिस्थितिपछि नेपाली कांग्रेस, माओवादी र रास्वपा लगायतका दलहरूले पार्टी कमिटीका औपचारिक बैठक बोलाएपनि एमालेले भने अहिलेसम्म त्यस्ता बैठक बोलाउन सकेको छैन ।

    आन्दोलनका क्रममा ओलीको निजी घर समेत जलाइएपछि उनी भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् । भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएका ओलीलाई सोही दिनदेखि करिब एक साता नेपाली सेनाको सुरक्षामा बसेका थिए । जेनजी आन्दोलनपछि एमालेभित्र समेत पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको चर्को बहस भइरहेको छ । तर, अध्यक्ष ओली त्यो बहसलाई स्विकार्न तयार भैसकेका छैनन् । त्यसैले पनि ओलीले नेताहरूसँग पहिला वान टु वान छलफल गरेको हुनसक्ने कतिपय नेताहरूको बुझाई छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar