पाकिस्तानसँग वार्ताका लागि तयार भयो अफगानी तालिवान सरकार

  • कालिका खवर
  • शनिबार, फाल्गुन १६, २०८२
  • काबुल । लामो समयदेखि जारी तनावले चरम रूप लिएसँगै पाकिस्तान र अफगानिस्तानबिच ‘खुला युद्ध’ सुरु भएको छ। पाकिस्तानी सेनाले अफगानिस्तानको राजधानी काबुल र तालिवानको मुख्य थलो कान्दहारसहितका प्रमुख सहरहरूमा भीषण बमबारी गरेपछि दुई देशबिचको सम्बन्ध पूर्ण रूपमा भत्किएको हो।

    पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सामाजिक सञ्जालमार्फत ‘अब हामी र तिमीबीच खुला युद्ध सुरु भयो’ भन्दै सिधा सैन्य मुठभेडको घोषणा गरेका छन्। यस सैन्य कारबाहीबाट दुवैतर्फ ठूलो क्षति भएको दाबी गरिएको छ। पाकिस्तानी सेनाका अनुसार अफगान भूमिमा गरिएका स्थल र हवाई आक्रमणमा २७४ जना अफगान लडाकु मारिएका छन् भने १२ जना पाकिस्तानी सैनिकको ज्यान गएको छ।

    यता अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी दाबीलाई झुटो भन्दै ५५ जना पाकिस्तानी सैनिक मारिएको र कैयौँलाई नियन्त्रणमा लिएको दाबी गरेका छन्। मुजाहिदका अनुसार पाकिस्तानी आक्रमणमा १९ जना सर्वसाधारणले समेत ज्यान गुमाएका छन्।

    पछिल्लो हिंसा गत साता पाकिस्तानले गरेको हवाई आक्रमण र त्यसको जवाफमा बिहीबार अफगानिस्तानले गरेको ड्रोन हमलापछि थप चर्किएको हो। पाकिस्तानले अफगानिस्तानले आफ्नो भूमिमा ‘पाकिस्तानी तालिवान’ (टीटीपी) लाई आश्रय दिएको आरोप लगाउँदै आएको छ भने अफगानिस्तानले त्यसलाई अस्वीकार गर्दै आएको छ।

    यद्यपि, युद्धले भयावह रूप लिएपछि तालिवान सरकारले संयमता अपनाउन खोज्दै वार्ताको प्रस्ताव अघि सारेको छ। प्रवक्ता मुजाहिदले इस्लामिक इमिरेट सधैँ संवादमार्फत समस्या समाधान गर्न इच्छुक रहेको भन्दै हिंसा अन्त्यका लागि वार्ता गर्न तयार रहेको बताएका छन्।

    सन् २०२१ मा तालिवान सत्तामा फर्किएपछि पाकिस्तानले पहिलो पटक काबुल र कान्दहार जस्ता संवेदनशील सहरहरूमा सिधा हवाई आक्रमण गरेको हो। विश्लेषकहरूका अनुसार डुरान्ड रेखाको दुवैतर्फ रहेका जनजातिहरूको गहिरो सम्बन्धका कारण पाकिस्तानका लागि यो युद्ध लामो समयसम्म टिकाइराख्न चुनौतीपूर्ण हुनेछ।

    हाल दुई देशबिचको सीमा नाकाहरू पूर्ण रूपमा ठप्प छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बढ्दो हिंसाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् भने रुस, इरान र इराक जस्ता देशहरूले तत्काल युद्ध रोक्न अपिल गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar