नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई झन् ठुलो विग्रहतिर लैजान्छ : डा. भट्टराई

  • कालिका खवर
  • मङ्लबार, मंसिर १६, २०८२
  • काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई आगामी दिनमा झन् ठुलो विस्फोट र विग्रहतिर लैजान सक्ने बताएका छन् । उनले भनेका छन्–’पछिल्लो जेनजी विद्रोहले नेपाली अर्थ(राजनीतिको समग्र अग्रगामी पुनर्संरचनाको माग गरेको कुरा प्रत्येक चेतनशील र इमानदार नागरिकको अगाडि दिनको घाम झैँ छर्लङ्ग छ।

    त्यसको सिधा अर्थ हो अब कुनै पनि बहानामा पुरानो राजनीति, दल,नेतृत्व, संगठन, कार्यशैली,संस्कारलाई सामान्य डेन्टिंग-पेन्टिंग गरेर प्रस्तुत गर्ने वा नयाँको नाउँमा खोक्रा पपुलिष्ट एजेण्डा र पुरानै राजा(रजौटा शैलीमा चमत्कारिक ‘देवदूत’हरूलाई अघि सारेर नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई आगामी दिनमा झन् ठुलो विस्फोट र विग्रहतिर लैजान सक्छ।’

    संकटग्रस्त राज्य र समाजको सतहभित्र पुत्पुताइरहेको बहुआयामिक अन्तर्विरोधको ज्वालामुखीलाई वेलैमा उचित निकास नदिई स्याउलाले छोपेर सामसुम पार्ने प्रयत्न इतिहासमा कहिल्यै पनि सफल नभएको उनको भनाइ छ ।

    डा. भट्टराईले निम्न कार्यहरू तदारुकताका साथ सम्पन्न गर्न ध्यानाकर्षण गराएका छन् :

    १, जेनजी समूहहरूको तर्फबाट संयुक्त रूपमा सरकार समक्ष प्रस्तुत सहमतिपत्र (म्यानडेट) मा तुरून्त दुबैपक्षबाट हस्ताक्षर होस् र कार्यान्वयनमा अघि बढोस्।

    २, कार्की आयोगले भदौ २३ र २४ गतेको घटनाको छानबिन अहिले जस्तो कछुवा गतिमा हैन रकेटको गतिमा छिटो सम्पन्न गरोस् र त्यसका सिफारिसहरू तदारुकताका साथ कार्यान्वयन होस्।

    ३, तोकिएको मितिमै स्वतन्त्र र निष्पक्ष निर्वाचन निर्बाध रूपमा सम्पन्न होस्।

    ४, निर्वाचन पश्चात् पुराना दल र नेतृत्वलाई लोकतान्त्रिक ढङ्गले ससम्मान बिदाइ गरेर देशलाई अग्रगामी नयाँ लोकतान्त्रिक नेतृत्व प्रदान गर्न नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू बिचमा वृहत् ध्रुवीकरण, मोर्चा वन्दी, सहकार्य होस्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar