नेताको विकल्प नेता नै हुन सक्छ, तर उद्देश्य स्पष्ट हुनुपर्छ

डा. अबुल हुसेन अन्सारी
डा. अबुल हुसेन अन्सारी
  • आइतवार, अशोज २६, २०८२
  • नेपालको राजनीतिमा अहिले उठिरहेको आन्दोलनलाई कतिपयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा विरुद्धको अभियानका रूपमा चित्रण गर्न खोजिरहेका छन्। तर वास्तविकता त्यति सरल छैन। नेताको विकल्प नेता नै हुन सक्छ, तर हरेक समयमा विकल्प खोज्नु आवश्यक हुन्छ भन्ने होइन। वर्तमान सन्दर्भमा देउबा अझै पनि पार्टीका लागि अनुभवी, स्थिर र सन्तुलित नेतृत्वका रूपमा अपरिहार्य देखिन्छन्।

    देउबाले आफ्नो दीर्घ राजनीतिक यात्रामा कठिन परिस्थितिहरूको सामना गर्दै पार्टी र देशलाई स्थायित्वको बाटोमा लैजाने जिम्मेवारी निभाएका छन्। पार्टीभित्र विचार र मतभेद हुनु स्वाभाविक हो, तर त्यसलाई नेतृत्वविरुद्धको आन्दोलनमा रूपान्तरण गर्नु बुद्धिमानी होइन। बरु असन्तुष्टिलाई संस्थागत सुधार र नयाँ पुस्ताको तयारीमा रूपान्तरण गर्नु नै आजको आवश्यकता हो।

    उनको नेतृत्वमा कांग्रेसले पटक–पटक राष्ट्रिय संकटका बेला जिम्मेवारीपूर्ण भूमिका खेलेको छ। उनी सहनशील, अनुभवी र निर्णय क्षमतायुक्त नेता हुन्, जसले दलभित्र संवाद र सहमतिको संस्कृति जोगाइराखेका छन्। नेताको विकल्प खोज्नु नेतृत्वलाई कमजोर बनाउने उद्देश्यले होइन, सुधार र सन्तुलनका लागि हुनुपर्छ। तर अहिलेको अवस्थामा देउबा जस्ता परिपक्व र दूरदर्शी नेताको साथमा पार्टी एकढिक्का भएर अघि बढ्नु कांग्रेसको भविष्यका लागि हितकर देखिन्छ।

    मलाई थाहा छ, देउबा सर्वत्र आलोचित छन्। शायद कतिपयले उनलाई घृणा पनि गर्लान्। तर उनसँग मेरो पुरानो सम्बन्ध छ। हरेक मानिसझैं उनी पनि कमजोरीविहीन छैनन् , गल्तीहरू गरेका छन्। तर छुच्चो र कठोर देखिने शेरबहादुर देउवाको मन वास्तवमा अत्यन्त कोमल छ। त्यो बुझ्न रूवाखोला पुग्नुपर्छ।

    त्यही गाउँमा उनले कथित दलितप्रति भएका भेदभावका लागि उपल्लो जातिहरूले माफी माग्नुपर्छ भनेर खुलेर बोलेका थिए। कतिपयले उनलाई “एलिट” भन्छन्, तर जसले सडकमा कपडा सिलाइरहेको वृद्ध मान्छेलाई आफ्नो सुरक्षा टोलीबीच गाडी रोकेर अंगालो हाल्छ , त्यो कसरी एलिट हुन सक्छ? त्यो वृद्ध मेरा आफ्नै हजुरबा थिए। त्यो क्षणले मलाई एउटा गहिरो पाठ सिकायो, कुनै वाद वा विचारधाराभन्दा माथि मानवतावाद नै सबैभन्दा ठूलो सत्य हो।

    मानवतावादको त्यो दृश्य मैले कहिल्यै भुल्न सक्दिनँ। त्यसैले, आलोचना र कमजोरीबीच पनि, म देउवालाई प्रिय मान्छु किनभने उनी केवल राजनीतिज्ञ होइनन्, एक मानवीय हृदय भएका नेता हुन्।

    लेखकको बारेमा

    डा. अबुल हुसेन अन्सारी

    डा. अबुल हुसेन अन्सारी

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar