नेशनल लाइफ इन्स्योरेन्सद्वारा ‘सफलताको शुरुवात’ कार्यक्रम सम्पन्न

  • कालिका खवर
  • शुक्रबार, कार्तिक १४, २०८२
  • काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुलाई प्रेरित र सम्मानित गर्न पोखरामा ‘सफलताको शुरुवात’ नामक दुई दिने विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

    पोखरा स्थित होटल पोखरा ग्राण्डमा आयोजित कार्यक्रममा कम्पनीले भदौ महिनामा सञ्चालन गरेको मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई नेपाली सिने जगतका महानायक राजेश हमालसँग प्रत्यक्ष अन्तरक्रिया गराउँदै उनको उत्प्रेरणात्मक अनुभव साझा गर्ने उद्देश्य राखिएको थियो ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरू लगायत देशभरका शाखाबाट उत्कृष्ट प्रदर्शन गरेका करिब ३०० जना वरिष्ठ अभिकर्ताहरू सहभागी थिए ।

    कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले गरेको उल्लेखनीय व्यवसायिक उपलब्धिमा अभिकर्ताहरूको भूमिका निर्णायक रहेको बताए । उनले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँ योजना ल्याइरहेको पनि जानकारी दिए ।

    खत्रीले भने, “नेपाली सिने जगतका चर्चित कलाकार एवं बौद्धिक व्यक्तित्व महानायक राजेश हमालसँग साक्षात्कार गराई उहाँका अनुभवबाट प्रेरणा लिन सकियोस् भन्ने सोचका साथ ‘सफलताको शुरुवात’ कार्यक्रम सञ्चालन गरिएको हो ।”

    कार्यक्रमका क्रममा उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मानपत्र प्रदान गरेका थिए । साथै, कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले अभिकर्ताहरुलाई बिक्री कौशलसम्बन्धी प्रशिक्षण पनि प्रदान गरेका थिए ।

    कार्यक्रममा महानायक राजेश हमालले आफ्नो जीवनको संघर्ष र निरन्तरताले नै सफलता सम्भव हुने बताउँदै भने, “जुनसुकै पेशामा लागे पनि निरन्तर मेहनत र प्रतिबद्धताले मात्र उत्कृष्टता हासिल गर्न सकिन्छ ।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar