मुस्ताङ र मनाङमा भारी वर्षा

  • कालिका खवर
  • मङ्लबार, कार्तिक ११, २०८२
  • काठमाडौँ, ११ कात्तिक । पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा आज भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार आज मनाङ र मुस्ताङमा भारी वर्षा अभिलेख भएको हो । विभागका अनुसार मनाङको चामेमा पछिल्लो २४ घण्टामा ६४.४ मिलिमिटर वर्षा भएको छ ।  त्यसैगरी मुस्ताङको जोमसोममा ५१.२ मिलिमिटर वर्षा भएको छ ।

    पचास मिलिमिटरदेखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षामा मापन गर्ने गरिन्छ । अन्य धेरै जिल्लामा मध्यमसम्म वर्षा भएको विभागले जनाएको छ । अहिले ३ः४० बजेसम्मको अभिलेख अनुसार डोल्पाको दुनैमा ३६, जुम्लामा १३ मिलिमिटर वर्षा भएको छ । पछिल्लो १२ घण्टामै बागलुङ, पर्वतमा २४ मिलिमिटर, प्यूठानमा २१.८ मिलिमिटर, सिन्धुपाल्चोकमा २९.६ मिलिमिटर वर्षा भएको छ । चितवनमा २३ र लमजुङमा २७ मिलिमिटर वर्षा भएको छ ।  हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छभने तल्लो भेगमा वर्षा भइरहेको विभागले जनाएको छ ।

    काठमाडौँ उपत्यकामा चिसो बढे पनि वर्षा भने हल्का भएको छ । आज राति बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको जनाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले वर्षा र हिमपात जारी रहेकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar