मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  • कालिका खवर
  • शुक्रबार, अशोज २४, २०८२
  • गोरखा, २४ असोज । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५ करोड राजस्व सङ्कलन भएको छ । यस वर्ष हिमाल आरोहणका लागि अनुमति लिएका ३७४ जनाबाट ११ लाख २२ हजार अमेरिकी डलर अर्थात् रु १५ करोड ७६ लाख ४० हजार १९५ राजस्व सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस वर्ष ३१ समूहका ३७४ जनाले अनुमति लिएका विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो । उनीहरुमध्ये ९५ महिला र २७९ पुरुष हुन् ।

    ४२ विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीबाट कुल रु १९ करोड राजस्व सङ्कलन भएको थियो । त्यसमध्ये झन्डै रु १६ करोड मनास्लुबाटै सङ्कलन भएको छ । कुल ८०२ आरोहीमध्य ३७४ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि चार जनाले मात्र अनुमति लिएका थिए । उनीहरुबाट रु ४२ लाख १२ हजार ३७५ राजस्व सङ्कलन भएको छ । आठ हजार मिटरभन्दा अग्लो धौलागिरि आरोहणका लागि १० जनाले, ल्होत्से, मकालु र चोयू आरोहणका लागि दुई–दुई जनाले मात्र अनुमति लिएका विभागले जनाएको छ । विश्वको आठौँ, नेपालको सातौँ अग्लो हिमाल भनेर चिनिने मनास्लु चुमनुब्री गाउँपालिका–१ सामागाउँमा अवस्थित छ । यो याममा अरू हिमालभन्दा मनास्लु हिमाल आरोहण गर्नेको सङ्ख्या उल्लेख्य हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar