मलाई बेस्सरी अपमानित र गाली गर्नुहोस्, सबै स्वीकार्य छ : हर्क साम्पाङ

  • कालिका खवर
  • शनिबार, जेष्ठ ३०, २०८३
  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले देशप्रतिको आफ्नो गहिरो प्रेमकै कारण आफूले निरन्तर गाली र अपमान सहनुपरेको बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित श्रम संस्कृति पार्टी उपत्यका साक्षात्कार कार्यक्रममा बोल्दै उनले आफूलाई संसारमै सबैभन्दा बढी गाली र अपमान गरिने व्यक्ति आफू भएको अनुभूति भएको बताए ।

    उनले भने, ‘मैले सबैभन्दा पहिले के महसुस गर्छु भने यो देशलाई माया गर्दा दुनियाँभरका मानिसले गाली गर्दा रहेछन् । संसारमा अहिले सबैभन्दा धेरै गाली गरिने र अपमान गरिने मान्छे म हुँ । मैले किन गाली खाइराख्नुपरेको छ भने म देशलाई बिछट्टै माया गर्छु ।’

    साम्पाङले भावुक हुँदै देश सम्झेर आफू धेरैपटक रोएको र हाँसेको बताए । ‘देशलाई सम्झेरै थुप्रै पटक रोएको छु, हाँसेको पनि छु । हाँसेँ भने यो देशसँगै हाँसौँला, रोएँ भने यो देशसँगै रोऔँला । देश बिर्सिएर एकै पल पनि बाँच्न नपरोस् ।’

    साम्पाङले आफूलाई आलोचना गर्नेहरूलाई संकेत गर्दै भने, ‘मलाई धेरै मान्छेले माटोमा मिलाउँछु भन्छन् । मलाई कहाँ मिलाउने ? म आफैँ माटो हुँ ।’

    उनले धरान उपमहानगरपालिकाको मेयर हुँदा दैनिक करिब एक हजार गाली पाउने गरेको भए पनि अहिले त्यो संख्या बढेर दैनिक १० हजार पुगेको भन्दै आफूविरुद्ध हुने गालीको संख्या झन् बढ्दै गएको बताए ।

    उनले भने, ‘आज पनि मलाई गाली गर्नेहरूको संख्या अझै धेरै बढेको छ । पहिले धरानको मेयर हुँदा मैले दिनको एक हजार वटा गाली पाउँथेँ । अहिले दिनको १० हजार वटा गाली खाइरहेको छु । गाली गर्ने ती विद्वान व्यक्तिहरू, महानुभाव र बौद्धिक व्यक्तिहरूलाई हार्दिक सम्मान र माया सम्झना छ । यसरी नै गाली गर्नुहोस् ।’

    उनले थप भने, ‘म मेरो बाटो हिँडिरहन्छु, तपाईंहरू खुट्टा तान्दै गर्नुहोस् । अन्ततः जित मेरै हुनेछ ।’ उनले आफूले भोग्ने अपमानलाई पनि सहज रूपमा स्वीकार गर्ने उल्लेख गर्दै भने, ‘बेस्सरी अपमानित गर्नुहोस्, सबै स्वीकार्य छ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar