महालक्ष्मी विकास बैंक र रोटरीबीच शिक्षा तथा साक्षरतामा सहकार्य

  • कालिका खवर
  • सोमवार, अशोज १२, २०८३
  • काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ।

    सम्झौताअनुसार महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयमा आधारभूत शिक्षा तथा साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले रोटरी क्लबमार्फत सञ्चालन हुने विभिन्न शैक्षिक तथा पूर्वाधार विकाससम्बन्धी परियोजनाका लागि वित्तीय सहयोग उपलब्ध गराउनेछ।

    बैंकका अनुसार सहकार्यअन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी परियोजना सञ्चालन, कम्प्युटर ल्याब स्थापना लगायतका आधारभूत शिक्षा तथा विद्यालयको शैक्षिक वातावरण सुधारमा केन्द्रित परियोजनामा सहयोग गरिनेछ।

    यस सहकार्यबाट विशेषगरी सामुदायिक तथा सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ वातावरण, स्वच्छता तथा डिजिटल पहुँचमा सुधार ल्याउन योगदान पुग्ने विश्वास बैंकले लिएको छ।

    महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

    यसैक्रममा बैंकले हालै भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोगसमेत गरेको जनाएको छ।

    बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएका यस्ता कार्यक्रमले समुदायको शैक्षिक, सामाजिक तथा समग्र विकासमा योगदान पुर्‍याउने अपेक्षा गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar