कुमारी बैंकका कर्मचारीद्वारा बाढीपीडितका लागि ४५ लाख ९७ हजार रुपैयाँ सहयोग

  • कालिका खवर
  • शुक्रबार, अशोज २३, २०८३
  • काठमाडौं । रसुवा–त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कुमारी बैंक लिमिटेडका कर्मचारीहरूले ४५ लाख ९७ हजार ३५३ रुपैयाँ सहयोग गरेका छन्।

    बैंकका कर्मचारीहरूले स्वेच्छिक रूपमा आफ्नो तलबबाट रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम योगदान गरेका हुन्। प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै कर्मचारीहरूले सहयोग रकम संकलन गरेका बैंकले जनाएको छ।

    संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनासम्बन्धी कार्यक्रमहरूमा उपयोग हुने विश्वास बैंकले लिएको छ।

    कुमारी बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको जनाएको छ। कर्मचारीहरूको यस योगदानले मानवीय संवेदना, सामाजिक एकता तथा राष्ट्रप्रतिको उत्तरदायित्वलाई थप सुदृढ बनाउने बैंकको विश्वास छ।

    यसअघि पनि बैंकले त्रिशूली–भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार, पुनःस्थापना तथा पुनःनिर्माण कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ प्रदान गरेको थियो।

    त्यसैगरी, बाढीबाट प्रभावितहरूको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन बैंकले गृह मन्त्रालयलाई ३९ लाख रुपैयाँ बराबरका अत्याधुनिक ड्रोन, पावर बैंक, जेनेरेटरलगायत विपद् व्यवस्थापनका आवश्यक सामग्री उपलब्ध गराएको थियो।

    कर्मचारीहरूको पछिल्लो योगदानसँगै कुमारी बैंकले बाढी प्रभावित समुदायको सहयोगका लागि संस्थागत तथा व्यक्तिगत दुवै तहबाट आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar