कुमारी बैंकद्वारा ‘ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट’ योजना सार्वजनिक, ‘एक खाता एक रुख’ अभियान शुरु

  • कालिका खवर
  • मङ्लबार, कार्तिक २५, २०८२
  • काठमाडौं । दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्ना सेवा, सुविधा, प्रक्रिया र व्यवसायिक साझेदारीमार्फत टेवा पुर्‍याउने उद्देश्यका साथ कुमारी बैंक लिमिटेडले नयाँ निक्षेप योजना ‘ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट’ सार्वजनिक गरेको छ।

    “एक खाता, एक रुख” सिद्धान्तमा आधारित यो योजनाअन्तर्गत खोलिने हरेक खाताको बापत बैंकले आफ्नै तर्फबाट एक रुख रोप्नेछ। यसमार्फत प्रत्येक निक्षेपकर्ता वातावरण संरक्षण तथा प्रवर्द्धनमा अप्रत्यक्ष रूपमा सहभागी हुने अवसर पाउनेछन्।

    यस योजनामा सहभागी खातावालहरूले साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत बढी ब्याजदर, एक लाख रुपैयाँसम्मको बीमा सुविधा, दुई वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा, र प्रत्येक खाता बापत एक रुख रोपिने विशेष सुविधा प्राप्त गर्नेछन्।

    बैंकका दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलका अनुसार, “यस योजनाबाट संकलित निक्षेप दिगो विकास प्रवर्द्धन गर्ने र वातावरणमा सकारात्मक प्रभाव सृजना गर्ने क्षेत्रमा लगानी गरिनेछ। साथै, प्रत्येक खाता बापत रुख रोपिँदा वातावरण संरक्षणमा दोहोरो योगदान पुग्नेछ।”

    कुमारी बैंकले यो योजना देशभरका सबै शाखामा उपलब्ध गराएको छ। इच्छुक ग्राहकहरूले बैंकको वेबसाइट वा नजिकको शाखा कार्यालयमा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्नेछन्।

    २४ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंकले वित्तीय साक्षरता प्रवर्द्धन र दिगो विकासका लक्ष्यहरू हासिल गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न परियोजनामा सहभागिता जनाउँदै आएको छ।

    हाल बैंकले देशभर रहेका आफ्ना ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर, तथा ४८ शाखारहित बैंकिङ इकाइ मार्फत ग्राहकहरूलाई अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आएको छ।

    बैंकले आगामी दिनहरूमा अझ सरल, सुलभ र उत्कृष्ट सेवा प्रदान गर्दै वातावरणमैत्री बैंकिङ अभ्यासलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar