कुमारी बैंक र महिला उद्यमी महासंघबीच महिलाको आर्थिक सशक्तीकरणका लागि साझेदारी

  • कालिका खवर
  • मङ्लबार, अशोज २०, २०८३
  • काठमाडौं । कुमारी बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच महिलाको दिगो आर्थिक सशक्तीकरण, उद्यम विकास तथा व्यावसायिक उत्थानशीलता प्रवद्र्धन गर्ने उद्देश्यले साझेदारी भएको छ ।

    साझेदारीसम्बन्धी सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन कार्की र महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंकले आफ्ना उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत दिगोपनप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिने क्रममा यो सहकार्य अघि बढाएको जनाएको छ ।

    साझेदारीअन्तर्गत महिला उद्यमीहरूको जिम्मेवार वित्तमा पहुँच विस्तार, उद्यम विकास, दिगो तथा जलवायु उत्थानशील लगानी, डिजिटल समाधान, बजारका अवसर तथा मूल्य शृङ्खलासँगको आबद्धता विस्तारमा विशेष ध्यान दिइनेछ ।

    महिला नेतृत्वका व्यवसायले सामना गरिरहेका वित्तीय चुनौतीलाई सम्बोधन गर्न नगद प्रवाहमा आधारित कर्जा मूल्याङ्कन, चल सम्पत्तिमा आधारित वित्तीय सुविधा, प्रत्याभूति तथा अन्य जोखिम साझेदारी संयन्त्रलगायत नवीन वित्तीय उपायहरूको सम्भावनासमेत खोजी गरिने बैंकले जनाएको छ ।

    कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले यो साझेदारीले समावेशी तथा दिगो वित्त प्रवद्र्धन गर्दै महिला उद्यमीहरूको वित्त, बजार र ज्ञानमा पहुँच विस्तार गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए ।

    उनका अनुसार महिला उद्यमी महासंघ नेपालको सशक्त सञ्जाल र कुमारी बैंकको दिगो बैंकिङ क्षमतालाई एकीकृत गरी महिला नेतृत्वका व्यवसायलाई थप वित्तीय रूपमा सक्षम, उत्थानशील र वृद्धि–उन्मुख बनाउन सहयोग गर्ने लक्ष्य राखिएको छ । आर्थिक अवसरमा लैङ्गिक समानता प्रवद्र्धन गर्दै थप उत्थानशील, समावेशी तथा दिगो अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले सहकार्य अघि बढाइएको उनले बताए ।

    सहकार्यअन्तर्गत संयुक्त सिकाइ, प्रभाव मापन तथा सरोकारवालासँगको संलग्नताका लागि आवश्यक संयन्त्रसमेत विकास गरिनेछ । उद्यम वृद्धि, वित्तमा पहुँच, व्यावसायिक उत्थानशीलता, रोजगारी सिर्जना तथा दिगो व्यावसायिक अभ्यासलाई पहलका प्रमुख क्षेत्रका रूपमा अघि बढाइनेछ ।

    कुमारी बैंक र महिला उद्यमी महासंघ नेपालले यो साझेदारीमार्फत नेपालभर महिला उद्यमी तथा महिला नेतृत्वका व्यवसायका लागि व्यावहारिक, विस्तारयोग्य तथा दिगो अवसर सिर्जना गर्ने लक्ष्य राखेका छन् ।

    ग्राहककेन्द्रित नवप्रवर्तन, जिम्मेवार बैंकिङ तथा दिगो वित्तमा केन्द्रित बैंकले नेपालको दीर्घकालीन आर्थिक रूपान्तरणमा आफ्नो योगदानलाई निरन्तर सुदृढ गर्दै आएको जनाएको छ । महिला उद्यमी महासंघसँगको सहकार्यबाट वित्तीय रूपमा सक्षम हरित उद्यमको विकास, सुदृढ मूल्य शृङ्खला निर्माण, रोजगारीका अवसर विस्तार तथा जलवायुमैत्री र दिगो आर्थिक भविष्य निर्माणमा योगदान पुर्‍याउने बैंकको लक्ष्य छ ।

    बैंकका अनुसार देशभर यसको २७९ शाखा, ४१ एक्सटेन्सन काउन्टर, २९४ एटीएम, ४० शाखारहित बैंकिङ इकाइ तथा १,२०० भन्दा बढी पीओएस टर्मिनल सञ्चालनमा छन् । डिजिटल बैंकिङ प्लेटफर्म, मोबाइल बैंकिङ सेवा तथा अन्तर्राष्ट्रिय कार्ड सुविधालगायत आधुनिक बैंकिङ सेवामार्फत बैंकले वित्तीय पहुँच विस्तार गर्दै आएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar