करोडौँ बक्यौता नतिरेपछि प्राधिकरणले काट्यो शिवम सिमेन्टको विद्युत् लाइन

  • कालिका खवर
  • मङ्लबार, कार्तिक ४, २०८२
  • हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम सिमेन्ट उद्योगको विद्युत् लाइन नेपाल विद्युत् प्राधिकरणले आज बिहान काटेको छ। प्राधिकरणका अनुसार उद्योगले विगतमा लोडसेडिङ अवधिमा डेडिकेटेड र ट्रंक लाइनमार्फत अतिरिक्त विद्युत् उपभोग गरे पनि प्रिमियम महसुल तिरेको थिएन। यही कारणले लामो समयदेखि बाँकी रहेको महसुल असुल गर्न प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेको हो।

    हेटौंडा वितरण केन्द्रका प्रमुख शिवराज यादवका अनुसार शिवम सिमेन्ट उद्योगले हालसम्म ७७ करोड ८८ लाख रुपैयाँ महसुल तिर्न बाँकी राखेको छ। उनले भने, “कयौँ पटक माग गर्दा पनि उद्योगले रकम नतिरेकाले आज बिहान लाइन काटिएको हो।” विद्युत् आपूर्ति बन्द भएपछि उद्योगको उत्पादन कार्य तत्कालका लागि रोकिएको बताइएको छ।

    नेपाल विद्युत् प्राधिकरणले मंगलबार अन्य ठूला उद्योगहरूमाथि पनि यस्तै कारबाही गरेको छ। जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सका लाइन पनि काटिएका छन्। ती उद्योगहरूले क्रमशः १ अर्ब ६० करोड, ७५ करोड ३७ लाख, ५० करोड ८५ लाख, ४४ करोड ८४ लाख र ३२ करोड १० लाख रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।
    प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदाको समयमा समेत उद्योगहरूले बक्यौता रकम बुझाउन सक्ने गरी काउन्टर सञ्चालनमा राखिएको जानकारी दिए। उनका अनुसार प्राधिकरणले बारम्बार आग्रह गर्दा पनि रकम नतिर्ने उद्योगहरूविरुद्ध आवश्यक कानूनी प्रक्रिया अघि बढाउने तयारी समेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar