काठमाडौंमा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ को ‘कृति कनेक्ट’ सम्पन्न

  • कालिका खवर
  • आइतवार, अशोज १८, २०८३
  • काठमाडौं । नेपाली आमसञ्चार उद्योगको पहिलो तथा अग्रणी संस्था नेपाल विज्ञापन संघ (आन)ले काठमाडौंमा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न गरेको छ।

    यसअघि कृति अवार्ड्सको क्रममा ‘एजेन्सी ब्रीफिङ सेसन’का रूपमा आयोजना हुँदै आएको कार्यक्रमलाई यस वर्ष गैर–सदस्य एजेन्सीहरूलाई समेत सहभागी गराउँदै ‘कृति कनेक्ट’का रूपमा विस्तार गरिएको हो। अवार्ड्सको गरिमा, प्रभाव र छविलाई थप उचाइमा पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आनले जनाएको छ।

    ‘क्रियटिभिटी कनेक्ट, ह्वेर इट अल स्टार्ट्स’ नाराका साथ आयोजित कार्यक्रममा विज्ञापन तथा बजारीकरण क्षेत्रका नयाँ विचार, सिर्जनात्मकता र व्यावसायिक सम्बन्धलाई सुदृढ पार्ने विभिन्न गतिविधि सञ्चालन गरिएको थियो।

    कार्यक्रममा नेपाली विज्ञापन उद्योगका प्रतिष्ठित व्यक्तित्वहरूले कृति अवार्ड्सका विभिन्न पक्षबारे जानकारी दिएका थिए। आनका पूर्व अध्यक्ष तथा कृति अवार्ड्सका सुरुवातकर्ता भास्कर राज राजकर्णिकारले अवार्ड्सको उद्देश्य र उपादेयताबारे प्रकाश पारे।

    त्यस्तै, आनका प्रथम उपाध्यक्ष उज्वल शाक्यले यस वर्ष आयोजना हुन लागेको कृति अवार्ड्सको १३औँ संस्करणका विविध पक्षबारे जानकारी गराए।

    हालसम्म सबैभन्दा धेरै कृति अवार्ड्स जित्न सफल मेकवेज प्रालिका प्रमुख विधान राजभण्डारीले अवार्ड्समा सहभागिता जनाउँदा गर्नुपर्ने तयारी, प्रस्तुतीकरण तथा प्रभावकारी रूपमा आफ्नो सिर्जना प्रस्तुत गर्ने विषयमा सहभागीहरूलाई जानकारी दिए।

    कार्यक्रममा नेपाली विज्ञापन उद्योगका समसामयिक विषय तथा सिर्जनात्मक बजारीकरणका विभिन्न आयाममा केन्द्रित छलफलसमेत आयोजना गरिएको थियो। छलफलले विज्ञापन उद्योगमा बदलिँदो प्रविधि, सिर्जनशीलता र बजारको आवश्यकताबीचको सम्बन्धबारे विचार आदानप्रदान गर्ने अवसर प्रदान गरेको थियो।

    कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई धन्यवाद दिँदै आनका अध्यक्ष सुदीप थापाले यस्ता कार्यक्रमले नेपालको विज्ञापन तथा ब्रान्डिङ उद्योगलाई थप एकताबद्ध बनाउन सहयोग पुग्ने बताए। साथै, यसले उद्योगमा पारदर्शिता र व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

    रेड बुलको मुख्य प्रायोजनमा आयोजना हुन लागेको रेड बुल १३औँ कृति अवार्ड्स २०८३ मा इन्फ्लुएन्सर एजेन्सी इनमार्क इन्डिया एन्ड एसोसिएट्स तथा जीएमडब्ल्यू ओरा, कोका–कोला र यति इन्टरनेशनल कलेज ‘पावर्ड बाई’ प्रायोजक रहेका छन्।

    त्यस्तै, एनसेल, प्राइम टाइल्सलगायत अन्य प्रतिष्ठित ब्रान्डहरू ‘सपोर्टेड बाई’ प्रायोजकका रूपमा रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar