कांग्रेसलाई मिलाउन गगन थापालाई डा. अन्सारीको आग्रह : ‘गुट होइन, इतिहास जोगाउनुहोस्’

  • कालिका खवर
  • बुधबार, साउन २७, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसलाई गुटगत विभाजनबाट जोगाउँदै पार्टी एकता कायम गर्न पूर्वमहामन्त्री गगनकुमार थापालाई डा. अबुल हुसेन अन्सारीले आग्रह गरेका छन्।

    अन्सारीले एक अपिल जारी गर्दै कांग्रेस कुनै व्यक्ति, परिवार, गुट वा पुस्ताको निजी सम्पत्ति नभएको बताएका छन्। कांग्रेस हजारौँ नेता–कार्यकर्ता तथा लोकतन्त्रका लागि संघर्ष गरेका नागरिकको त्याग, पसिना र बलिदानबाट निर्माण भएको उनको भनाइ छ।

    उनले कांग्रेसको चारतारे झण्डा र रुख चिन्ह कुनै गुटको शक्ति प्रदर्शन गर्ने प्रतीक नभई पार्टीको साझा पहिचान र लोकतान्त्रिक संघर्षका प्रतीक भएको बताएका छन्।

    ‘कांग्रेसलाई मिलाउनुहोस्,’ अन्सारीले थापालाई आग्रह गर्दै भनेका छन्, ‘पार्टी विभाजित हुँदा टुक्रिने केवल संगठन होइन, लाखौँ कार्यकर्ताको विश्वास हो।’

    उनले पार्टी संकटमा रहेका बेला नेतृत्वले एकता जोगाउन भूमिका खेल्नुपर्ने बताएका छन्। नयाँ पुस्ताको नेतृत्वको दाबी गर्ने नेताहरूले कांग्रेसलाई जोड्ने कि विभाजनका नयाँ रेखा कोर्ने भन्ने प्रश्नको जवाफ दिनुपर्ने उनको भनाइ छ।

    अन्सारीले ‘सबैलाई जोड्ने कांग्रेस’ भन्ने नारालाई व्यवहारमा समेत कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। आफ्नै पार्टीका नेता, कार्यकर्ता र फरक विचारलाई जोड्न नसक्ने कांग्रेसले देशका विभिन्न विचार, वर्ग र समुदायलाई कसरी जोड्न सक्छ भन्ने प्रश्न उनले गरेका छन्।

    ‘परिवर्तन भनेको नेतृत्व परिवर्तन मात्र होइन, राजनीतिक संस्कार, सोच, व्यवहार, संवाद र सहकार्यमा पनि परिवर्तन हो,’ उनले भनेका छन्।

    कांग्रेसलाई नयाँ बनाउने हो भने पार्टीभित्रको सम्बन्ध र कार्यशैली पनि नयाँ बनाउनुपर्ने अन्सारीको सुझाव छ। विरोधीलाई कमजोर बनाउने रणनीतिभन्दा आफ्नै कार्यकर्ताको मन जित्ने राजनीति आवश्यक रहेको उनले बताएका छन्।

    उनले वर्षौँदेखि पार्टीको झण्डा बोकेर संगठन निर्माणमा लागेका तर पद र अवसर नपाएका कार्यकर्तालाई कांग्रेसको वास्तविक शक्ति भएको उल्लेख गरेका छन्।

    ‘जसले टिकट पाएनन् तर पार्टी छोडेनन्, जसले पद पाएनन् तर झण्डा छोडेनन्, जसले अवसर पाएनन् तर विचार छोडेनन, काङ्ग्रेसको वास्तविक शक्ति उनीहरू पनि हुन्,’ अपिलमा भनिएको छ।

    अन्सारीले नेतृत्वका रूपमा विभिन्न व्यक्तिको नाम आउने र जाने भए पनि कांग्रेस भने रहिरहनुपर्ने बताएका छन्। व्यक्तिभन्दा पार्टी, गुटभन्दा संगठन, पदभन्दा नीति र व्यक्तिगत अहंकारभन्दा पार्टी एकतालाई प्राथमिकता दिनुपर्ने उनको जोड छ।

    कांग्रेसको इतिहास लोकतन्त्र, विधि, स्वतन्त्रता र सम्मानको राजनीतिका लागि भएको संघर्षसँग जोडिएको उल्लेख गर्दै उनले पार्टीलाई कुनै व्यक्तिको अहंकारको मैदान नबनाउन आग्रह गरेका छन्।

    पार्टीभित्र नेतृत्व र कार्यकर्ताबीच संवाद कमजोर हुँदा संगठन, सम्मान कमजोर हुँदा विश्वास र विश्वास कमजोर हुँदा पार्टीको आधार नै कमजोर हुने उनको भनाइ छ।

    ‘रुखका हाँगाहरू फरक हुन सक्छन्, पातहरू फरक हुन सक्छन्, फूलहरू फरक हुन सक्छन्; तर जरा एउटै हुनुपर्छ,’ अन्सारीले भनेका छन्, ‘हाँगाहरूले एक–अर्कालाई काट्न थाले भने रुख कसरी बाँच्छ?’

    उनले गुटको गणितभन्दा संगठनको भविष्यलाई प्राथमिकता दिन तथा व्यक्तिको विजयभन्दा संस्थाको विजय खोज्न नेतृत्वलाई आग्रह गरेका छन्।

    ‘कांग्रेस बच्नुपर्छ। व्यक्ति रहून् वा नरहून, बिचार रहनुपर्छ। नेता बदलिऊन् वा नबदलिऊन, सस्था बलियो रहनुपर्छ,’ उनले भनेका छन्।

    अन्त्यमा अन्सारीले इतिहासले नेतृत्वलाई ‘कांग्रेसको नेता बन्नुभयो कि कांग्रेसलाई इतिहासमा बचाउने पुस्ता बन्नुभयो?’ भनेर प्रश्न गर्ने बताएका छन्।

    उनले समय अझै बाँकी रहेको भन्दै एक–अर्कालाई हराउने नभई कांग्रेसलाई जिताउने निर्णय गर्न समेत अपिल गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar