जनतासँगको सम्बन्ध टाढिएकाले एमाले कमजोर भयो : प्रदीप ज्ञवाली

  • कालिका खवर
  • मङ्लबार, भदौ २३, २०८३
  • काठमाडौँ। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण पार्टी कमजोर भएको बताएका छन् । उनले पार्टी नेता कार्यकर्ता परिचालन भन्दा पनि सीडीओ सरुवातिर केन्द्रित बन्दा जनसम्बन्ध टुटेको स्वीकार गरेका छन् ।

    पार्टीको मधेस प्रदेशको कमिटीले आयोजना गरेको मिसन जागरण अभियानको अभिमुखीकरण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै पूर्वउपमहासचिव समेत रहेका ज्ञवालीले पार्टी नेताहरू सरकारी र राजर्षीपनका कारण एमाले कमजोर भएको बताएका हुन् ।

    ‘एमाले जनपरिचालन गर्ने पार्टी हो तर हाम्रो कार्यशैली सरकारी भयो । राजर्षी भयो’ ज्ञवालीले भने ‘हाम्रो ध्यान सिडिओ सरुवा,प्रहरी र प्रशासकीय अधिकृतको सरुवातिर केन्द्रित भयो’, ज्ञवालीले भने,‘यसले पार्टी नेतालाई जनतासँग टाढा पुर्‍यायो । यो कुरा आजैका मितिबाट सुधार हुन जरुरी छ।’

    ज्ञवालीले फागुनको निर्वाचनमा एमालेको कमजोर नतिजा आउनुमा पार्टीको आन्तरिक एकतामा भएको गडबडी पनि मुख्य कारक भएको बताए। पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद,समूह,उपसमूहको निर्माण र निर्वाचनमा एकताबद्ध भएर जान नसक्दा यो अवस्था आएको बताए।

    ‘गत वर्षको भदौ २३ गतेसम्म एमाले ठुलो र बलियो पार्टी थियो तर यस वर्षको भदौ २३ मा एमाले कमजोर पार्टी भएको छ’ ज्ञवालीले भने,‘यो अवस्था आउनुमा पार्टी जनताका मुद्दाबाट टाढिएको परिणाम हो । जसले गर्दा संविधान मिचिदा होस वा पार्टी नेता माथि सरकारले ज्यादती गर्दा पनि जनता सडकमा आएनन्।’

    ज्ञवालीले २०७९ को निर्वाचनपछि एमालेलाई सत्ताभोगी पार्टीको रूपमा जनताले बुझेको बताए । २०७९ देखि २०८२ सम्म आउँदा चार पटक एमालेले सत्ता समीकरण बदलेको उनले बताए ।

    ‘२०७९ देखि ०८२ सम्म एमालेले चार पटक सत्ता समीकरण बदल्यो । पहिला प्रचण्डलाई प्रधानमन्त्री बनायो । केही महिनामा नै त्यो सरकार छोड्यो । फेरि प्रचण्डलाई नै प्रधानमन्त्री मानेर सरकारमा सहभागी भयो’ ज्ञवालीले भने ‘सरकारमा भित्रिने वा बाहिरिएको कारण हामीले जनतालाई भनेनौँ । आखिर प्रचण्ड सुध्रिएर हामीले सत्तामा गएका थियौँ कि हामी सुध्रिएर ? यसको जवाफ अझै पनि जनताले खोजेका छन् ।’

    प्रचण्ड सरकारबाट हठात् हटेर कांग्रेससँगको सहकार्यले जनतामा ज्यादै नकारात्मक सन्देश गएको उनले बताए । एमालेले जनताका समस्याको पहिचान,उठान र समाधान दिनुपर्नेमा ज्ञवालीले जाेड दिए। पार्टीको भेला महोत्तरीमा जारी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar