‘जेनजी’ प्रदर्शनका क्रममा नवलपुरमा ५८ करोडको क्षति

  • कालिका खवर
  • बिहिबार, कार्तिक १३, २०८२
  • नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते भएको आगजनी तोडफोडबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा करिब ५८ करोड रुपैयाँको क्षति भएको छ ।

    प्रदर्शनका क्रममा जिल्लास्थित सरकारी र निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट करिब ५८ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए । उनका अनुसार आन्दोलनका क्रममा जिल्लामा ४० वटा सवारीसाधन र ५३ वटा भौतिक संरचनामा क्षति पुगेको थियो ।

    जिल्लास्थित सरकारी कार्यालयका एउटा चारपाङ्ग्रे सवारीसाधन र चारवटा मोटरसाइकल, तीनवटा मोटरसाइकलबारे अनुसन्धान भइरहेको, स्थानीय तहका नौवटा मोटरसाइकल, पाँचवटा चारपाङ्ग्रे सवारीसाधन र सातवटा साइकलसहित २१ वटा सवारीसाधनमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । उनका अनुसार स्थानीय तहका नौवटा मोटरसाइकलमा पूर्ण क्षति पुगेको छ ।

    यस्तै, दुईवटा चारपाङ्ग्रे सवारीसाधनमा पूर्ण तथा तीनवटामा आंशिक रुपमा क्षति पुगेको छ । निजी सवारीसाधनतर्फ १४ वटा सवारीसाधनमा क्षति पुगेको छ ।

    जिल्लामा क्षति पुगेका ४० वटा सवारीसाधनमध्ये १७ वटा मोटरसाइकलमा पूर्ण क्षति, पाँचवटा आंशिक तथा चारपाङ्ग्रे सवारीसाधनतर्फ चार/चारवटा सवारीसाधनमा पूर्ण र आंशिक क्षति भएको छ । प्रदर्शनका क्रममा जिल्लामा ५३ वटा भौतिक संरचनामा क्षति पुगेकामा पाँचवटा निजी आवास पूर्ण रूपमा क्षति भएका प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।

    जिल्लामा दुईवटा प्रहरी इकाइ, तीनवटा प्रहरी बिट र गण्डकी प्रदेशअन्तर्गतको एउटा सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ ।

    यस्तै, तीनवटा पालिका कार्यालय र छवटा वडा कार्यालयमा आगजनी भएको उनले बताए । आगजनी र तोडफोडबाट जिल्लामा राजनीतिक दल र जनप्रतिनिधिका निजी घर गरी १५ वटामा क्षति पुगेको जनाइएको छ ।

    यसैगरी, आइएमई ग्रुपको मौलाकाली केबलकार र बाबुराम सुनचाँदी पसलमा समेत आगजनी र तोडफोड भएको छ । आन्दोलनका क्रममा जिल्लास्थित चारवटा राजनीतिक पार्टीका जिल्ला पार्टी कार्यालय, १२ वटा नगर पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar