जेनजी आन्दोलनको एक वर्ष : उपलब्धि सीमित, सरकारमाथि कमन जेनजी नेपालको प्रश्न

  • कालिका खवर
  • मङ्लबार, भदौ २३, २०८३
  • काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलनको एक वर्ष बितिसक्दा पनि देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको र समस्याहरू झन् जटिल बन्दै गएको निष्कर्ष निकालेको छ।

    आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले वक्तव्य जारी गर्दै आन्दोलनको उपलब्धि र वर्तमान अवस्थाबारे धारणा सार्वजनिक गरेका हुन्।

    साहले जेनजी आन्दोलनबाट अपेक्षित ठूलो राजनीतिक परिवर्तन हुन नसकेको दाबी गर्दै रवि लामिछानेको नख्खु जेलबाट रिहाइ र काठमाडौंका तत्कालीन मेयर बालेन्द्र शाहको प्रधानमन्त्री पदमा आरोहणबाहेक आम नागरिकले अनुभूति गर्नसक्ने उल्लेखनीय परिवर्तन नदेखिएको टिप्पणी गरेका छन्।

    उनका अनुसार आन्दोलनको एक वर्षपछि पनि देश यथास्थितिको समस्याबाट बाहिर निस्कन सकेको छैन। हिजो आफूलाई वैकल्पिक नेतृत्वका रूपमा प्रस्तुत गर्ने पात्रहरू छोटो समयमै आलोचनाको केन्द्रमा पुगेको साहको दाबी छ।

    शहीदको हत्यामा संलग्नलाई कारबाही गर्न माग

    अध्यक्ष साहले आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी युवाहरूको हत्यामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याएर दण्डित गर्नुपर्ने माग गरेका छन्। तर, त्यसको सट्टा वर्तमान सरकार उनीहरूसँग सहकार्य गरिरहेको आरोप उनले लगाए।

    आन्दोलनको अग्रपंक्तिमा रहेका युवालाई सम्मान, अवसर र रोजगारी दिनुको सट्टा झूठा मुद्दा लगाएर दुःख दिने काम भइरहेको उनको आरोप छ। त्यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरूलाई राज्यले निःशुल्क र प्रभावकारी उपचार उपलब्ध गराउन नसकेको पनि उनले बताएका छन्।

    ‘युवाको बलिदान राजनीतिक स्वार्थको साधन बनाइयो’

    साहले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले युवाहरूको रगत, पसिना र बलिदानलाई राजनीतिक स्वार्थपूर्तिको साधन मात्र बनाएको अनुभूति भएको बताएका छन्।

    जेनजी युवाका लागि नीतिगत तथा संरचनागत सुधारका ठोस काम नगर्ने तर ‘जेनजी’को नाममा सार्वजनिक बिदा घोषणा गर्नेजस्ता सतही र प्रतीकात्मक कदम चाल्ने गरेको उनको गुनासो छ।

    उनले सरकारलाई सार्वजनिक बिदा दिएर सस्तो प्रचार नगरी जेनजी युवाका लागि वास्तविक नीतिगत र संरचनागत सुधार गर्न चेतावनी दिएका छन्।

    कमन जेनजी नेपालका माग

    अध्यक्ष साहले सरकारसमक्ष आन्दोलनका बाँकी मुद्दा तत्काल सम्बोधन गर्न माग गरेका छन्। उनका प्रमुख मागहरूमा:

    • आन्दोलनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नुपर्ने।
    • आन्दोलनकारीमाथि लगाइएका झूठा मुद्दा बिनासर्त खारेज गर्नुपर्ने।
    • आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिको हत्यामा संलग्नलाई कानुनी कारबाही गर्नुपर्ने।
    • भ्रष्टाचारीमाथि कडा कारबाही गर्नुपर्ने।
    • जेनजी युवाका लागि ठोस नीतिगत तथा संरचनागत सुधार गर्नुपर्ने।

    कमन जेनजी नेपालले आन्दोलनको मर्म र युवाहरूको बलिदानलाई केवल राजनीतिक नारामा सीमित नगरी व्यवहारमै परिवर्तन देखाउन सरकारलाई आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar