जेन–जेड आन्दोलनले हल्लाएको नेपाली अर्थतन्त्र

राधिका ढकाल
राधिका ढकाल
  • शनिबार, अशोज ११, २०८२
  • काठमाडौं । भदौ २३ गतेबाट सुरु भएको जेन–जेड आन्दोलनले मुलुकलाई ठूलो राजनीतिक, सामाजिक र आर्थिक संकटमा धकेलेको छ । भ्रष्टाचार अन्त्य, सुशासन कायम र सुधारका मागसहित सुरु भएको आन्दोलन पहिलो दिनमै हिंसात्मक बन्यो । राज्य पक्षको गोली प्रहारमा १९ जना युवाको ज्यान गएपछि आन्दोलन झन् भडकिँदै दोस्रो दिन देशभर हिंस्रक रुप लियो । पहिलो र दोस्रो दिन गरेर ७२ जनाभन्दा बढीको मृत्यु भएपछि तत्कालीन सरकार ढलेर पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको हो ।

    आन्दोलनका क्रममा ठूलो मानवीय क्षतिसँगै भौतिक संरचना पनि तहसनहस बने । राजधानीको थापाथलीस्थित अटो बजारमा भएका अधिकांश शोरुममा आगजनी र तोडफोड हुँदा करिब ५० वटा नयाँ कार खरानी भए । सीजी मोटर्स, टाटा, महिन्द्रा, सुजुकी लगायतका प्रतिष्ठित कम्पनीमा ठूलो क्षति पुगेको छ । दशैं–तिहार नजिकिँदै गर्दा बिक्रीमा उत्साह छाउनुपर्ने बेला बजार उल्टै सुनसान बनेको छ ।
    त्यस्तै, देशकै ठूलो सुपरमार्केट श्रृंखला भाटभटेनीका १२ वटा शाखा जलेर नष्ट भए । गोदामसहितका संरचना नष्ट हुँदा करिब पाँच हजार कर्मचारीको रोजगारी धरापमा परेको बताइएको छ । होटल क्षेत्रमा मात्र करिब २५ खर्ब बराबरको क्षति पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ । पर्यटन व्यवसायीहरूले भने नेपाल अझै पनि सुरक्षित रहेको सन्देश दिँदै पर्यटकलाई निर्धक्क भ्रमण गर्न आग्रह गरेका छन् ।

    उद्योग–व्यवसायमा भएको क्षतिले हजारौं परिवार बेरोजगार भएका छन् । करिब १० हजार कामदारले रोजगारी गुमाउँदा सामाजिक सुरक्षामा समेत ठूलो संकट देखिएको छ । श्रम विज्ञहरूले यसलाई कोभिड–१९ महामारी र २०७२ सालको महाभूकम्पजत्तिकै गम्भीर संकट भनेका छन् । आर्थिक वृद्धिदर यो वर्ष १ प्रतिशतभन्दा तल झर्ने आँकलन गरिएको छ ।

    बीमा प्राधिकरणका अनुसार हालसम्म २२ अर्बभन्दा बढीको बीमा दावी दर्ता भइसकेको छ । भाटभटेनी, सीजी मोटर्स, चन्द्रागिरी हिल्स लगायतका निजी समूहको क्षति ठूलो भएकाले बीमा कम्पनीहरूलाई अझै धेरै भुक्तानी गर्नुपर्ने देखिएको छ । सरकारी संरचनामा भने बीमा नभएकाले क्षतिको भार राज्यले नै व्यहोर्नुपर्नेछ । दशैं–तिहारको बेला विश्वास र व्यवसाय पुनःस्थापना गर्न निजी क्षेत्र र सरकारबीच सहकार्य अत्यावश्यक भएको व्यवसायीहरूको आग्रह छ ।

    लेखकको बारेमा

    राधिका ढकाल

    राधिका ढकाल

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar