इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि युएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

  • कालिका खवर
  • मङ्लबार, चैत्र ३, २०८२
  • काठमाडौं । इरानबाट भएको नयाँ मिसाइल तथा ड्रोन आक्रमणपछि संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । युएईको जनरल सिभिल एभिएसन अथोरिटीले उडान सुरक्षा सुनिश्चित गर्न यो कदम चालिएको जनाएको छ ।

    अल जजीराका अनुसार युएईका सरकारी सञ्चारमाध्यमहरूले यसलाई ‘उडान र हवाई चालक दलको सुरक्षा सुनिश्चित गर्न तथा देशको भौगोलिक अखण्डता जोगाउन गरिएको असाधारण सावधानीपूर्ण उपाय’ बताएका छन् । युएईको रक्षा मन्त्रालयले इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोनहरूलाई आफ्नो वायु रक्षा प्रणालीमार्फत अवरोध गर्ने काम भइरहेको जनाएको छ । दुबईका विभिन्न स्थानमा सुनिएको ठूलो आवाज वायु रक्षा प्रणालीले मिसाइल तथा ड्रोन अवरोध गर्दा आएको बताइएको छ ।

    यसैबीच, अबुधाबीको मिडिया कार्यालयका अनुसार ड्रोन आक्रमणपछि अबुधाबी शहरबाट करिब १८० किलोमिटर दक्षिणपश्चिममा रहेको विशाल शाह ग्यास क्षेत्रमा लागेको आगोको मूल्यांकन गर्न त्यहाँको सञ्चालन अस्थायी रूपमा स्थगित गरिएको छ । उक्त आक्रमणपछि ग्यास क्षेत्रमा आगलागी भएको थियो, जसलाई अहिले नियन्त्रणमा लिइएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको जनाइएको छ ।

    शाह ग्यास क्षेत्र विश्वकै ठूला ग्यास उत्पादन केन्द्रमध्ये एक मानिन्छ । सरकारी स्वामित्वको अबुधाबी नेशनल आयल कम्पनी (एडनोक)ले सञ्चालन गर्ने यस क्षेत्रबाट दैनिक करिब १.२८ अर्ब स्ट्यान्डर्ड क्युबिक फिट ग्यास उत्पादन गर्ने क्षमता रहेको छ । यसअघि सोमबार पनि ड्रोन आक्रमणपछि युएईको फुजैराह पेट्रोलियम औद्योगिक क्षेत्रमा ठूलो आगलागी भएको थियो ।

    यूएईको ऊर्जा तथा यातायात पूर्वाधारहरूलाई इरानले पटकपटक निशाना बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । एएनआई

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar