इरानको डरले विमान परिवर्तन गर्नुपरेको ट्रम्पले स्वीकारे

  • कालिका खवर
  • बुधबार, साउन २७, २०८३
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको स्वीकारेका छन् । उनलाई इरानबाट हत्याको धम्की आएको थियो ।

    ट्रम्पले मंगलबार पत्रकारहरूलाई भने, ‘यो पूर्णतया ‘सिक्रेट सर्भिस’को निर्णयमा भर पर्ने कुरा हो । उनीहरूले जे चाहन्छन्, म त्यही गर्छु । म सिक्रेट सर्भिस र सेनाको सल्लाह मान्छु । उनीहरूले मलाई अर्कै उडान र अर्कै विमान प्रयोग गर्न भनेका थिए । सुरक्षा व्यवस्था उस्तै कडा थियो, तर उनीहरूले मलाई त्यसो गर्न भनेकाले मैले त्यही गरेँ । उनीहरूले जे भन्छन्, म त्यही गर्छु । मलाई लाग्छ, त्यहाँ कुनै खतरा थियो । मलाई धेरै धम्कीहरू आउने गर्छन् ।”

    जुलाई ८ मा टर्कीमा उनी एक खाना ओसारपसार गर्ने क्याटरिङ गाडीमा लुकेर अर्को विमानमा सरेका थिए ।

    एयर फोर्स वानमा यात्रा गरिरहेका पत्रकारहरूले राष्ट्रपति ट्रम्प पनि आफूहरूसँगै विमानमा छन् भन्ने ठानेका थिए ।

    उक्त घटनाबारे समाचार सार्वजनिक भएपछि ट्रम्पले अन्ततः यसलाई स्वीकार गरेका हुन् ।

    यो कुरा पत्रकारहरू र ह्वाइट हाउसका केही कर्मचारीहरूबाट समेत गोप्य राखिएको थियो । उनीहरू आफूहरू राष्ट्रपति ट्रम्पसँगै एउटै विमानमा रहेको ठानिरहेका थिए ।

    ​​पत्रकारहरुले ट्रम्पलाई एयर फोर्स वानमा यात्रा गर्नु जोखिमपूर्ण थियो भनेर प्रश्न गर्दा उनले भने– मलाई लाग्छ म चढेको विमान वास्तवमै बढी जोखिममा थियो, किनकि आक्रमणकारीहरूले त्यसै विमानलाई निशाना बनाउने सम्भावना बढी थियो भन्ने मलाई लाग्छ ।

    अमेरिकी पत्रिका द वासिङ्टन पोस्टको एक रिपोर्ट अनुसार, ट्रम्प क्यामेराहरूको अगाडि पुरानो एयर फोर्स वान विमानमा चढेका थिए, तर केही मिनेटपछि नै उनी चुपचाप अर्को सानो विमान एयर फोर्स सी–३२ए मा गए ।

    उनलाई गोप्य रूपमा सार्ने कार्यका लागि विमानस्थलको खाना ओसारपसार गर्ने क्याटरिङ गाडीको प्रयोग गरिएको थियो । सामान्यतया यस्ता गाडीहर उडानअघि विमानमा खाना र अन्य अत्यावश्यक सामग्रीहरू चढाउन प्रयोग गरिन्छन् ।

    ट्रम्प र उनका केही सहयोगीहरू यस क्याटरिङ गाडीमा चढे र हाइड्रोलिक प्रणालीको प्रयोग गरी उक्त गाडीलाई माथि उठाइयो र विमानको नजिक लगिएको थियो । गाडीलाई एयर फोर्स वानको मुख्य प्रवेशद्वारको अर्कोतर्फ रहेको ढोकाको ठीक अगाडि राखिएको थियो, जसले गर्दा ट्रम्प कसैको नजरमा नपरी विमानबाट बाहिर निस्कन सके ।

    एयर फोर्स वान विमानभित्र पत्रकारहरु र ह्वाइट हाउसका केही कर्मचारीहरू थिए, त्यसबेला ट्रम्प अर्कै विमानमा गइसकेका थिए ।

    उनीहरुले ट्रम्प त्यही विमानमा छन् भन्ने ठानेको थिए, तर वास्तविकता त्यस्तो थिएन ।

    अहिले उठिरहेको प्रश्न उठिरहेको छ कि के पत्रकारहरु र ह्वाइट हाउसका केही अधिकारीहरूको जीवन जोखिममा परेको थियो ? यदि ट्रम्पको जीवन खतरामा थियो भने उनीहरूको जीवन पनि जोखिममा थियो । यदि विमानमा साँच्चै आक्रमण भएको भए के हुन्थ्यो ?

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar