इडाहोको रेस्टुरेन्टमा गोली चल्दा ३ जनाको मृत्यु, ७ जना घाइते

  • कालिका खवर
  • आइतवार, साउन १७, २०८३
  • वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाको इडाहो राज्यको ट्विन फल्स सहरस्थित ‘इन–एन–आउट बर्गर’ रेस्टुरेन्टमा शनिबार भएको गोलीकाण्डमा परी ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

    ट्विन फल्स सहरका सार्वजनिक सूचना संयोजक जोशुआ पाल्मरका अनुसार प्रहरीले रेस्टुरेन्ट नजिकैको क्षेत्रमा गोली चलाउने आशङ्का गरिएका व्यक्तिको शव फेला पारेको छ । यद्यपि, मृत्यु हुने तीन जनामध्ये ती व्यक्ति समावेश छन् वा छैनन् भन्नेबारे तत्काल पुष्टि भएको छैन ।

    ट्विन फल्सका प्रहरी प्रमुख म्याथ्यु हिक्सले पत्रकार सम्मेलनमा घटनापछि समुदायमाथिको तत्कालीन जोखिम टरेको विश्वास गरिएको बताए । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान र गोली चलाउनुको कारणबारे अनुसन्धान गरिरहेको छ ।

    व्यस्त व्यापारिक क्षेत्रमा रहेको उक्त रेस्टुरेन्टमा स्थानीय समयअनुसार दिउँसो करिब २ बजे गोली चलेको थियो । घटनाका बेला सो क्षेत्रमा सयौँ मानिस उपस्थित रहेको पाल्मरले बताए । पीडितका परिवारलाई जानकारी दिने प्रक्रिया जारी रहेकाले प्रहरीले मृतक तथा घाइतेको नाम, उमेरलगायत विवरण सार्वजनिक गरेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar