हङकङमा नेपाली व्यवसायीद्वारा ‘JobLink Connect’ मोबाइल एप सुरु

  • कालिका खवर
  • सोमवार, माघ २६, २०८२
  • हङकङ । हङकङमा नेपाली व्यवसायीद्वारा विकसित गरिएको मोबाइल एप ‘JobLink Connect’ को बेटा संस्करण सोमबार (फेब्रुअरी ९, २०२६) बाट औपचारिक रूपमा सुरु गरिएको छ। नेपाली समुदायका व्यवसायीले हङकङमै विकास गरेको सम्भवतः पहिलो डिजिटल रोजगारी प्लेटफर्मका रूपमा यस एपलाई लिइएको छ।

    JobLink Connect को अवधारणा CUHK EMBA अन्तर्गत MIT Hong Kong Innovation Node को Think Like an Innovator पाठ्यक्रम अध्ययनका क्रममा परिष्कृत गरिएको हो। यसले सन् २०१४ मा डिके दाहालले नेपाली समुदायका लागि सुरु गरेको Viber र Facebook आधारित ‘कन्स्ट्रक्सन ग्रुप’ को डिजिटल र व्यवस्थित रूपलाई प्रतिनिधित्व गर्दछ।
    यो मोबाइल–फ्रेन्डली एप विशेषगरी ब्लु–कलर कामदारलाई लक्षित गरी डिजाइन गरिएको हो, जसले कामदारलाई सिप र दक्षताका आधारमा घरमै बसेर रोजगारी खोज्न सहज बनाउनेछ। त्यस्तै, रोजगारदाताले पनि आवश्यक कामदार सजिलै फेला पार्न सक्नेछन्।
    JobLink Connect मार्फत निर्माण, खाद्य तथा पेय पदार्थ (F&B), घरेलु सहयोगी, सुरक्षा गार्ड तथा बडीगार्ड, चालक, उत्पादन तथा म्यानुफ्याक्चरिङ, यातायात तथा लजिस्टिक्स, मर्मत तथा जडान, स्वास्थ्य सहयोगजस्ता विभिन्न क्षेत्रमा रोजगारीका अवसर उपलब्ध हुनेछन्।

    हाल हङकङमा रोजगारीको अभाव बढ्दो अवस्थामा रहेकाले धेरै नेपाली कामदार बेरोजगार छन्। यस्तो अवस्थामा JobLink Connect ले समुदायभित्र रोजगारी खोज्ने र दिने दुवै पक्षलाई जोडेर महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। एप हङकङमा सफल सुरुवातपछि नेपालसहित अन्य मुलुकहरूमा पनि विस्तार गर्ने योजना रहेको संस्थापक डिके दाहालले बताए।

    हङकङको नेपाली समुदायभित्र JobLink Connect को व्यापक प्रचार–प्रसार गरी सकेसम्म धेरैलाई लाभान्वित गराउन सहयोग गर्न संस्थापक टिमले आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar