मुख्यमन्त्री मोहन यादवसँग रिजवान आलमको भेट, जलवायु संकट र नेपालको बाढीबारे छलफल

  • कालिका खवर
  • बुधबार, भदौ २४, २०८३
  • दुबई । भारतको मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादव र नेपाली मूलका रिजवान आलमबीच दुबईमा विशेष शिष्टाचार भेटवार्ता भएको छ। मध्य प्रदेशमा वैदेशिक लगानी भित्र्याउने तथा रणनीतिक साझेदारी विस्तार गर्ने उद्देश्यले आयोजित ‘इन्भेस्ट इन मध्य प्रदेश’ अन्तरक्रियात्मक कार्यक्रममा उनीहरूबीच भेट भएको हो।

    कार्यक्रममा मुख्यमन्त्री यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने रिजवान आलम विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री यादवले रिजवानलाई विशेष निमन्त्रणा गरेको बताइएको छ।

    भेटवार्ताका क्रममा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकट, बाढी तथा त्यसबाट प्रभावित नेपाली समुदायका विषयमा समेत छलफल भएको थियो। रिजवानले जलवायु परिवर्तनको असरका कारण नेपालले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेका थिए।

    उनले जलवायु परिवर्तन कुनै एक देशको मात्र समस्या नभएको भन्दै यसको प्रभाव न्यूनीकरण र प्रभावित मुलुकलाई सहयोग गर्न विश्व समुदाय एकजुट हुनुपर्ने धारणा राखेका थिए।

    सुनसरी मूलका रिजवान आलम दक्षिण एसिया, भारत तथा अरब क्षेत्रसहित मध्यपूर्वको कूटनीतिक तथा व्यापारिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। मुख्यमन्त्री यादवसँग दुबईमा रिजवानको यो दोस्रो उच्चस्तरीय भेट भएको बताइएको छ।

    कार्यक्रममा भारतको आर्थिक वृद्धि, नीतिगत सुधार, विश्वस्तरीय पूर्वाधार, नवप्रवर्तन, दिगो विकास तथा वैदेशिक लगानीका सम्भावनाबारे छलफल भएको थियो।

    मुख्यमन्त्री यादवले भारतमा सिर्जित अनुकूल आर्थिक वातावरणले वैदेशिक लगानी र दीर्घकालीन व्यावसायिक साझेदारीका लागि विश्वभरका लगानीकर्तालाई अवसर प्रदान गरेको बताए। उनले मध्य प्रदेशलाई वैदेशिक लगानीका लागि उत्कृष्ट गन्तव्यका रूपमा प्रस्तुत गर्दै राज्यमा रहेका प्राकृतिक स्रोत-साधन, दक्ष जनशक्ति, पूर्वाधार, विस्तारिँदो बजार, प्रगतिशील नीति र रणनीतिक भौगोलिक अवस्थालाई लगानीको प्रमुख आधारका रूपमा उल्लेख गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar