हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ आयोजना हुँदै, १०० भन्दा बढी स्टल रहने

  • कालिका खवर
  • बिहिबार, अशोज ८, २०८३
  • काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनलाई केन्द्रमा राख्दै हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ आयोजना हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आयोजनामा हुने एक्स्पोलाई निजी क्षेत्रकेन्द्रित ऊर्जा क्षेत्रको ठूलो वार्षिक कार्यक्रमका रूपमा अघि बढाउने तयारी गरिएको हो।

    आयोजकका अनुसार ऊर्जा उत्पादनदेखि लगानी, वित्त, प्रविधि, निर्माण, उपकरण, सेवा, अनुसन्धान तथा नीतिगत बहससम्म ऊर्जा क्षेत्रको सम्पूर्ण मूल्य शृंखलालाई एउटै मञ्चमा जोड्ने उद्देश्य एक्स्पोको रहेको छ।

    नेपालले अघि सारेको ३० हजार मेगावाट विद्युत् उत्पादनको राष्ट्रिय लक्ष्य हासिल गर्ने यात्रामा आवश्यक लगानी, प्रविधि र साझेदारी विस्तार गर्न एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ। साथै जलवायुजन्य जोखिमको सामना गर्न सक्ने सुरक्षित, दिगो तथा उत्थानशील ऊर्जा क्षेत्र निर्माणमा समेत एक्स्पो केन्द्रित हुने जनाइएको छ।

    एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी स्टल रहने तथा तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ। प्रदर्शनीसँगै ज्ञान, प्रविधि, लगानी र व्यावसायिक सम्पर्क विस्तार गर्ने उद्देश्यले विभिन्न कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।

    एक्स्पोमा सहभागिता तथा स्टल बुकिङ खुला गरिएको छ। स्टल बुकिङ तथा सहभागितासम्बन्धी थप जानकारीका लागि इप्पान सचिवालय तथा एक्स्पो व्यवस्थापक इभेन्ट सोलुसन प्रालि मा सम्पर्क गर्न आयोजकले सम्बन्धित सबैलाई आग्रह गरेको छ।

    इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले नेपालको ऊर्जा क्षेत्रलाई लगानी, प्रविधि र व्यवसायसँग जोड्दै दिगो विकासको आधार निर्माण गर्न एक्स्पो महत्वपूर्ण मञ्च बन्ने विश्वास व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar