गठबन्धनका तिमिल्सिना र देवकोटाले गराए उम्मेदवारी दर्ता

  • कालिका खवर
  • बुधबार, पुस २३, २०८२
  • पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस र एमाले गठबन्धनका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । पोखरामा रहेको प्रदेश निर्वाचन कार्यालयमा पुगेर बुधवार उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसले तनहुँका प्राडा जगत तिमिल्सिनालाई उम्मेदवार बनाएको छ भने एमालेले गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाएको छ ।

    तिमिल्सिना प्राध्यापक संघका केन्द्रीय अध्यक्ष भएर काम गरेका व्यक्ति हुन् । देवकोटा भने यसअघिका पटक पटक निर्वाचनमा पराजित नेतृ हुन् । २०८० को निर्वाचनमा पनि उनी राष्ट्रिय सभा सदस्य उम्मेदवार थिइन् । काँग्रेस र माओवादी गठबन्धनका कारण उनी पराजित भइन् ।

    त्यसअघि २०७४ मा गोरखा नगरपालिकाको उपमेयर र २०७९ मा गोरखा नगरपालिकाकै मेयर पदमा उनी पराजित भएकी थिइन् । गोरखा एमालेका लागि कमजोर संगठन भएको जिल्ला हो ।

    सोही जिल्लाबाट एमालेले पहिलो पटक राष्ट्रिय सभा सदस्य उम्मेदवार दिएको छ । कांग्रेसबाट उम्मेदवार बनेका तिमिल्सिना चाहिँ सभापति शेरबहादुर देउवाका निकट पात्र हुन् ।

    यसअघि पनि कांग्रेसले तनहुँबाटै उम्मेदवार बनाएको थियो । सुरुमा प्रकाश पन्थलाई अपाङ्गता कोटाबाट उम्मेदवार बनाएर जिताएको कांग्रेसले उनको कार्यकाल सकिएपछि २०८० मा पदम परियारलाई तनहुँबाटै उम्मेदवार सोही कोटामा बनाएको हो ।

    कांग्रेसले क्षेत्र र प्रदेशबाट सिफारिस गरेको नामलाई लत्याएर केन्द्रीय कार्यसम्पादन समिति बैठकले तिमिल्सिनालाई उम्मेदवार बनाएपछि पार्टीभित्रै आलोचना बढेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar