गोरखा दरबारसम्म ‘मेरोअटो राइड ४.०’ आयोजना हुँदै

  • कालिका खवर
  • बिहिबार, अशोज १५, २०८३
  • काठमाडौं । ‘मेरोअटो राइड ४.०’ को चौथो संस्करण आगामी असोज १६ गते शुक्रबार आयोजना हुने भएको छ। अटोमोटिभ्स प्रालिले विश्व पर्यटन दिवसको अवसर पारेर काठमाडौंको नेपाल टुरिजम बोर्डदेखि ऐतिहासिक गोरखा दरबारसम्म राइड आयोजना गर्न लागेको हो।

    राइड बिहान ८ बजे नेपाल टुरिजम बोर्डबाट सुरु हुनेछ। राइडरहरू सीतापाइला, धार्के, गल्छी, मुग्लिन र आबुखैरेनी हुँदै गोरखा पुग्नेछन्। गोरखामा पुगेर राइडको समापन गरिने आयोजकले जनाएको छ।

    राइडका क्रममा विभिन्न मनोरञ्जनात्मक तथा खेलकुद गतिविधिसमेत आयोजना गरिनेछ। यस्तै, मुग्लिनमा टोटल इनर्जीले केयर क्याम्प सञ्चालन गर्नेछ।

    अटोमोटिभ्स प्रालिका प्रबन्ध निर्देशक हरिप्रसाद गजुरेलले आन्तरिक पर्यटन प्रवर्द्धन, राइडिङ संस्कृतिको विकास तथा राइडरहरूबीच भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

    “हामीले विगत चार वर्षदेखि लगातार राइड आयोजना गर्दै आएका छौं। आन्तरिक पर्यटन प्रवर्द्धन, राइडिङ संस्कृति विकास र राइडरहरूबीच भाइचारा बढाउनु यसको प्रमुख उद्देश्य हो,” गजुरेलले भने। उनले आगामी वर्षहरूमा समेत राइडलाई निरन्तरता दिइने बताए।

    राइडको मुख्य प्रायोजक टोटल इनर्जी रहेको छ। त्यस्तै, सिएट टायर ‘पावर्ड बाइ’ तथा रोयल इनफिल्ड, हिरो, यामाहा, होन्डा, बजाज र मोर्बिडेली ‘सपोर्टेड बाइ’का रूपमा रहेका छन्।

    ‘मेरोअटो राइड’ विगत चार वर्षदेखि निरन्तर आयोजना हुँदै आएको छ। यसको पहिलो संस्करण २०८० सालमा सोलुखुम्बुको पताले, दोस्रो संस्करण २०८१ सालमा रसुवाको ब्राबल र तेस्रो संस्करण गत वर्ष दोलखाको खरीढुंगामा सम्पन्न भएको थियो।

    चौथो संस्करणमार्फत गोरखाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रलाई राइडिङसँग जोड्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने आयोजकको लक्ष्य रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar