ग्लोकल टिन हिरो नेपाल २०२६ का शीर्ष ६ फाइनलिस्ट सार्वजनिक

  • कालिका खवर
  • मङ्लबार, भदौ २, २०८३
  • काठमाडौं । ग्लोकल प्राइभेट लिमिटेडले गोल्छा ग्रुपको प्रस्तुतिमा आयोजना हुने ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष छ फाइनलिस्ट सार्वजनिक गरेको छ। नेपालभरका असाधारण किशोरकिशोरीलाई पहिचान, सम्मान र प्रोत्साहन गर्ने राष्ट्रिय मञ्चका रूपमा स्थापित यो कार्यक्रम यस वर्ष दक्षिण एसियाली स्तरमा विस्तार भएको छ।

    यस वर्षको प्रतिस्पर्धाका लागि देशका सातै प्रदेशबाट ७९१ आवेदन प्राप्त भएका थिए। तीमध्ये बागमती प्रदेशबाट २६.२७ प्रतिशत, कोशी प्रदेशबाट २०.३४ प्रतिशत र मधेस प्रदेशबाट १९.४९ प्रतिशत आवेदन परेका थिए। कुल आवेदकमध्ये ६६.९५ प्रतिशत पुरुष र ३३.०५ प्रतिशत महिला रहेका छन्।

    आवेदकहरूले युवा सशक्तीकरण तथा नेतृत्व, शिक्षा तथा सीप विकास, वातावरण तथा जलवायु, समुदाय विकास, प्रविधि तथा नवप्रवर्तन, लैङ्गिक समानता, स्वास्थ्य र नागरिक सहभागितालगायतका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएका छन्।

    शीर्ष ६ फाइनलिस्ट

    यस वर्षको ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का लागि विराटनगरका १५ वर्षीय स्टेम तथा साइबर सुरक्षा नवप्रवर्तक आर्जन चौधरी, अछामका १९ वर्षीय जलवायु तथा वातावरण अभियन्ता अटल देव ढकाल, पोखराकी १८ वर्षीया स्टेम तथा प्रविधि नवप्रवर्तक जिसरा बोहरा, सुर्खेतका १७ वर्षीय जलवायु तथा वातावरण कार्यकर्ता किशोर न्यौपाने, महोत्तरी बर्दिवासका १७ वर्षीय नागरिक सहभागिता तथा सुशासन नवप्रवर्तक मन्जिल बस्नेत र नवलपुरकी १९ वर्षीया लैङ्गिक तथा सामाजिक न्याय प्रवर्द्धक सबनम सुनार फाइनलिस्ट बनेका छन्।

    ग्लोकलको ‘२० अन्डर २०’ बाट छनोट भएका शीर्ष २० किशोरकिशोरीमध्ये कागजात समीक्षा, पहल, उपलब्धि तथा कामको प्रभावका आधारमा यी छ जनालाई अन्तिम चरणका लागि छनोट गरिएको हो।

    कोका-कोला बेभरेज नेपालका सार्वजनिक मामिला, सञ्चार तथा दिगोपन निर्देशक स्नेह राजभण्डारी, केएफसी तथा पिज्जा हटका कन्ट्री म्यानेजर विजय शर्मा र एसियाली विकास बैंक (एडीबी) का वरिष्ठ शिक्षा विशेषज्ञ जेफ्री जू जियान सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलले फाइनलिस्ट छनोट गरेको हो। उनीहरूको सिर्जनात्मकता, उपलब्धि, प्रभाव र विशेषगरी कामको दिगोपनलाई मूल्याङ्कनको आधार बनाइएको थियो।

    अगस्ट २७ देखि कार्यशाला, अगस्ट ३० सम्म मतदान

    शीर्ष छ फाइनलिस्टले अगस्ट २७ देखि ३१ सम्म स्व-योग्यता कार्यशालामा सहभागी हुनेछन्। कार्यशालाका क्रममा उनीहरूले विभिन्न कर्पोरेट हाउस तथा ग्लोकलका साझेदार संस्थाको भ्रमण गर्ने, उद्योगका पेसाकर्मीसँग अन्तरक्रिया गर्ने तथा व्यावहारिक अनुभवमार्फत आफ्नो ज्ञान र नेटवर्क विस्तार गर्ने अवसर पाउनेछन्।

    निर्णायक मण्डलले अगस्ट ३१ मा फाइनलिस्टसँग व्यक्तिगत अन्तर्वार्ता लिनेछ। विजेता छनोटका लागि अगस्ट १८ साँझ ५ बजेदेखि अगस्ट ३० साँझ ५ बजेसम्म एसएमएस मतदानसमेत खुला गरिएको छ।

    मतदानका लागि ३५००१ मा सम्बन्धित कोड पठाउनुपर्नेछ। आर्जन चौधरीका लागि GTH2026 AC, अटल देव ढकालका लागि GTH2026 AD, जिसरा बोहराका लागि GTH2026 JB, किशोर न्यौपानेका लागि GTH2026 KN, मन्जिल बस्नेतका लागि GTH2026 MB र सबनम सुनारका लागि GTH2026 SS पठाउन सकिनेछ।

    नेपालबाट दक्षिण एसियासम्म विस्तार

    सन् २०१५ मा काठमाडौं उपत्यकाबाट सुरु भएको ग्लोकल टिन हिरो कार्यक्रमले १२ वर्षको यात्रामा नेपालभरका युवा परिवर्तनकर्तालाई पहिचान गर्ने मञ्चका रूपमा आफ्नो स्थान बनाएको आयोजकले जनाएको छ। यस वर्ष भने कार्यक्रमको दायरा नेपालबाहिर भारत, भुटान, श्रीलंका र बंगलादेशसम्म विस्तार गरिएको छ।

    गोल्छा ग्रुपको प्रस्तुतिमा ‘ग्लोकल टिन हिरो दक्षिण एसिया २०२६’ सुरु भएसँगै पाँच राष्ट्रलाई एउटै मञ्चमा जोडिएको हो। यसले प्राज्ञिक योग्यताभन्दा बाहिर युवाको नेतृत्व, नवप्रवर्तन र सामाजिक प्रभावलाई क्षेत्रीय रूपमा सम्मान गर्ने उद्देश्य राखेको छ।

    सेप्टेम्बर १ मा ग्रान्ड फिनाले

    ‘गोल्छा ग्रुप पेजेन्ट्स ग्लोकल टिन हिरो नेपाल २०२६’ का विजेतासहित नेपाल, भारत, भुटान, श्रीलंका र बंगलादेशका राष्ट्रिय विजेताहरूलाई सेप्टेम्बर १, २०२६ मा ललितपुरस्थित द प्लाजामा हुने विशेष ग्रान्ड फिनालेमा सम्मान गरिनेछ।

    सोही समारोहमा पहिलोपटक ‘दक्षिण एसियाली ग्लोकल टिन हिरो २०२६’ को ताजसमेत प्रदान गरिनेछ। कार्यक्रममा कूटनीतिज्ञ, राजनीतिज्ञ, प्राज्ञ, उद्यमी, युवा नेता तथा सेलिब्रेटीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता रहने आयोजकले जनाएको छ।

    ग्लोकल प्राइभेट लिमिटेडको पहल तथा गोल्छा ग्रुपको मुख्य साझेदारी रहेको कार्यक्रमलाई काठमाडौंस्थित भारतीय राजदूतावास, संयुक्त अरब इमिरेट्सको राजदूतावास, युएनएफपिए, प्लान इन्टरनेसनल, कोइइका, युनियन वुमन तथा शैक्षिक साझेदार एम्बार्क कलेजले रणनीतिक सहकार्य गरेका छन्। होन्डा, कोका-कोला, पञ्चकन्या ग्रुप, केएफसी, टोयोटा, बायोस्फियर ग्लोबल, नबिल बैंक, कान्तिपुर, द काठमाडौं पोस्ट, वल्र्डलिंक, द प्लाजा, नेपाल-पे, सांग्रिला ब्लु होटल, यती एयरलाइन्स, पिज्जा हट, न्युट्रीप्लस, प्रिस्मा एड्भर्टाइजिङ र इको नेटवर्कलगायत संस्थाको पनि सहकार्य रहेको आयोजकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar